२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको अधिवेशन साउन २ गते


प्रकाशित: बुधवार, १७ असार २०८३, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेवार पत्रकारहरूको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं जिल्ला शाखाको अधिवेशन आगामी श्रावण २ गते (शनिबार) हुने भएको छ ।


काठमाडौं जिल्ला शाखाको अधिवेशन सम्पन्न गराउन दबूको केन्द्रले राजु नापितको संयोजकत्वमा तीन सदस्यीय तदर्थ समिति गठन गरेको छ। समितिमा केन्द्रीय सहसचिव प्रजित शाक्य र सुनिता महर्जन सदस्य रहनुभएको छ।


दबूका महासचिव केके मानन्धरका अनुसार केन्द्रले भदौ १९ र २० गते गोरखा जिल्लाको भिमसेन गाउँपालिका–५, मिलनबस्तीमा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै सबै जिल्ला शाखालाई असार १५ गतेभित्र अधिवेशन सम्पन्न गर्न परिपत्र गरेको थियो। अधिकांश जिल्लाले समयमै अधिवेशन सम्पन्न गरे पनि काठमाडौं जिल्लामा आवश्यक तयारी अघि नबढेकाले केन्द्रले तदर्थ समिति गठन गरी अधिवेशनको प्रक्रिया अघि बढाएको हो।


महासचिव मानन्धरले अधिवेशनको तयारीस्वरूप नयाँ सदस्य दर्ता तथा पुराना सदस्यहरूको नवीकरण कार्यसमेत सुरु भइसकेको जानकारी दिनुभयो ।


उहाँका अनुसार हालसम्म २५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। साथै, संगठनको अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्दै १२ देशमा विदेश विभाग गठन गरी संयोजकहरूको जिम्मेवारीसमेत तोकिएको छ ।


दबूले आगामी केन्द्रीय महाधिवेशनलाई संगठन विस्तार, सदस्यता अभिवृद्धि तथा देश–विदेशमा रहेका नेवार पत्रकारहरूबीच समन्वय सुदृढ गर्ने अवसरका रूपमा लिएको जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex