काठमाडौं । देश तथा विदेशमा रहेका नेवार पत्रकारहरूलाई एकीकृत गर्दै संगठन विस्तारलाई तीव्रता दिन नेवाः पत्रकार राष्ट्रिय दबूले १० देशका लागि विदेश शाखा प्रमुख नियुक्त गरेको छ ।
दबूका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सुरेन्द्र भक्त श्रेष्ठका अनुसार संस्थाको हाल २९ वटा जिल्ला शाखा सक्रिय छन ।
विदेशमा कार्यरत नेवार पत्रकार तथा सञ्चारकर्मीलाई संस्थासँग आबद्ध गराउने उद्देश्यले विदेश शाखा विस्तार अभियान अघि बढाइएको उहाँले बताउनुभयो ।
नियुक्त संयोजकहरूमा जापानका लागि चन्द्रमान महर्जन, अमेरिकाका लागि अनिल रञ्जित, नेदरल्याण्ड्सका लागि आशिष राजभण्डारी, अष्ट्रेलियाका लागि डा. राजु मानन्धर, यूएईका लागि सचिन्द्र श्रेष्ठ, पोल्याण्डका लागि अभिनाश डंगोल, क्यानाडाका लागि शिव कारञ्जित, पोर्चुगलका लागि राजेशमान जोशी, नर्वेका लागि नयन मल्ल तथा जर्मनीका लागि कुमार नापित रहेका छन ।
दबूले विदेशमा रहेका सञ्चारकर्मीहरूको सञ्जाल विस्तार गर्दै संस्थागत गतिविधिलाई अन्तर्राष्ट्रिय स्तरमा समेत सक्रिय बनाउने लक्ष्य लिएको जनाएको छ ।
नेपाल संवत ११३२ मा स्थापना भएको नेवाः पत्रकार राष्ट्रिय दबूले आगामी भदौ १९ र २० गते गोरखाको भिमसेन थापा गाउँपालिकास्थित नमुना बस्तीमा पाँचौँ राष्ट्रिय महाधिवेशन तथा १५औँ साधारणसभा आयोजना गर्ने तयारी गरिरहेको छ ।
महाधिवेशनको तयारीस्वरूप संगठन विस्तार र जिल्ला अधिवेशनलाई समेत तीव्रता दिइएको छ ।
हालसम्म गोरखा जिल्ला शाखाले अधिवेशन सम्पन्न गरिसकेको छ भने काभ्रे जिल्ला शाखाको अधिवेशन जेठ ३१ गते हुने तय भएको छ ।
त्यसैगरी ललितपुर, भक्तपुर र धादिङ जिल्ला शाखाले असारको पहिलो साता अधिवेशन गर्ने कार्यक्रम रहेको छ। चितवन, मकवानपुर, सुनसरी, अर्घाखाँची, दोलखा, सुर्खेत र कास्की लगायतका जिल्ला शाखाले पनि अधिवेशनको तयारी सुरु गरिसकेको संस्थाले जनाएको छ ।
दबूले देशभित्रका शाखासँगै विदेशमा रहेका नेवार पत्रकारहरूको सहभागिता बढाएर संगठनलाई थप सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ ।
Categorized in समाज