काठमाडौँ । नेपाल भाषा, नेवार अधिकार, संस्कृतिको विकास अभियानमा योगदान पुराएका ३ जना नेवाः अगुवालाई शनिवार एक कार्यक्रम विच सम्मान गरिएको छ ।
नेवाः अधिकार सिरपा गुठीले काठमाडौंको खुसिबुस्थित नेवाः ब्याँक्टेमा आयोजित कार्यक्रममा नेपाल भाषाका वरिष्ठ समालोचक प्राडा माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ र मानव अधिकारवादी नेता मल्ल के सुन्दरलाई यस वर्षको ‘नेवा अधिकार सिरपाः’बाट सम्मान गरिएको हो ।
नेपाल भाषाका प्रसिद्ध समालोचक डा श्रेष्ठ ‘समालोचनाया सिद्धान्त’ पुस्तकका लेखक हुन । उनी अस्वस्थताका बाबजुद पनि उहाँ अस्पतालबाट पुरस्कार ग्रहण गर्न खुसिबुँ आएका थिए । श्रेष्ठ नेपाल भाषालगायत जनजातिको अधिकार तथा समानताका लागि विसं २०२२ देखि निरन्तर सङ्घर्ष गर्दै आएका व्यक्तित्व हुन ।
त्यसैगरी ‘इमु छम्ह लँय् दु । मरि कुचा बँय् दु ।’ जस्ता बाल कवितादेखि ‘लुँ हिटी व हिटी, लुँ हिटी नं हिटी हे मखुला’ नेपाल भाषा तथा नेपाली भाषाका मार्मिक कविता सङ्ग्रहका लेखक दुर्गालाल श्रेष्ठ नेपाल भाषा साहित्य क्षेत्रका एक हस्ती हुन ।
त्यस्तै नेपाल भाषाको भाषिक अधिकारका लागि विसं २०२२ देखि सङ्घर्ष गर्दै आएका वरिष्ठ पत्रकार मल्ल के सुन्दर नेपाल भाषाका प्रसिद्ध पत्रिका ‘इनाप’ का सम्पादक हुन भने राससका पूर्वमहाप्रबन्धक, मानव अधिकारवादी नेता, आदिवासी जनजाति आन्दोलनका अगुवा तथा नेवाः दे दबुका संस्थापक अध्यक्ष समेत हुन ।
सबै पुरस्कारको राशि क्रमशः रु ५० हाजर÷रु ५० हजार रहेको सो पुरस्कार वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै सताब्दी पुरुष जोशीले नेपालको संविधानमा नेपाल भाषालगायतका सबै भाषालाई राष्ट्रिय भाषाका रुपमा लेखिएको भए पनि व्यवहारमा लागू नभएको बताउँदै नेपाल भाषालाई थप उन्नतशील बनाउन सबै एक भएर काम गर्नुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा नेवाः राजनीतिककर्मी, विभिन्न संघ, संस्थाको प्रतिनिधि, नेवाः अधिकारर्मीहरुको व्यापक सहभागिता रहेको आयोजकले बताएको छ ।
Categorized in समाज