काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सोमबार अरनिकाको प्रतिमाको शिलान्यास गरेका छन ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले राष्ट्रिय विभूति अरनिकाको शालिक निर्माण गर्ने भएको हो ।
अरनिकाको स्मृति दिवशको सन्दर्भमा नाफाले परिसरभित्र आयोजित प्रतिमा शिलान्यास कार्यक्रममा शताब्दी पुरुष जोशीले प्रतिमाको शिलान्यास गरेका छन ।
शताब्दी पुरुष जोशीले तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई विदेशमा प्रचार गरेका अरनिकोको जीवनीबारे गहिरो खोज एवं अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
अरनिकोको सिर्जनशील प्रतिभाको सही सदुपयोग तथा अवसर प्राप्त भएका कारण उक्त प्रतिभा अहिले विश्वकै महत्पूर्ण सम्पदाका रुपमा स्थापित भएको शताब्दी पुरुष जोशीको भनाई थियो ।
५० लाखको लागतमा १७ फिट अग्लो प्रतिमा निर्माण गरिने प्रतिष्ठानले जनाएको छ ।
जोशीले विसं २०१६ मा पहिलोपटक चीन पुग्दा अरनिकोले निर्माण गरेको श्वैत चैत्य देखेपछि यस विषयमा थप अध्ययन गरेका थिए ।
जोशीले ‘नेपालया राष्ट्रिय विभूति कलाकार अरनिकोया श्वेत चैत्य’ नेवारी भाषामा कृति प्रकाशन गरेका थिए । सो पुस्तकलाई अङ्ग्रेजीमा अनुवाद गरी प्रकाशित गरिएको थियो । त्यसैवगरी ‘कलाकार अरनिको’ कृतिसमेत प्रकाशन गरिएको छ ।
नाफाका कुलपति कान्छाकुमार कर्माचार्यले नेपाली वास्तुकलाको क्षेत्रलाई तत्कालीन समयमा अरनिकोले विदेश पु¥याएर नेपालीको गौरब बढाएको बताए ।
उपकुलपति गोपाल चित्रकारले करीब ७०० वर्षअघि अरनिकोले चीनमा गएर आफ्नो कलाकौशलका माध्यमबाट स्वदेशी वास्तुकलाको प्रवद्र्धन गरेकाले उनको स्मरणमा शालिक बनाउन लागिएको जानकारी दिए ।
सन १३०६ मार्च ११ तारिखमा ६३ वर्षको उमेरमा कलाकार अरनिकोकोे चीनमा निधन भएको इतिहासमा उल्लेख छ ।
Categorized in सम्पदा/संस्कृति