काठमाडौं । नेपालभाषा साहित्य नखः को अवसरमा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती खड्का रिजाल सम्मानित भएका छन ।
कीर्तिपुरको पांगा लाछिमा आयोजित दुई दिने सहित्य सम्मेलनका अन्तिम दिन शनिवार (चैत्र १२ गते) विद्यालय तहमा स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरेर भाषाको महत्वलाई उजागर गरेकोले उनीहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
जनकवि दुर्गालाल श्रेष्ठ, नेपालभाषा एकाडेमीका भाइरस च्यान्सलर मल्ल के सुन्दर र नेपालभाषा टाइम्सका प्रकाशक रमेश स्थापितले महानगर प्रमुखद्धय र नगरपालिका प्रमुख –उपप्रमुखलाई सम्मान गरेका थिए ।
सम्मानित भएपछि प्रमुख शाक्यले नेपालभाषा पाठ्यक्रम लागू गर्न मेयरको मात्रै नभइ उप्रप्रमुखदेखि सबै वडा जनप्रतिनिधि र कर्मचारीहरुको पनि उत्तिकै भूमिका रहेको बताए ।
शाक्यले पाठ्यक्रम लागू भएको तर अझै गर्न पनि धेरै काम बांकी रहेको बताए । उनले भने,‘हामी अझै सफल भएका छैनौं । हामी सबै मिलेर अझै यसलाई सफल बनाउनपर्छ । राज्य धर्म हाम्रो हो । संविधान अनुसार काम हामीले गरेको हो। त्यसैले कोही रिसाउनुपर्दैन ।’

ललितपुर महानगरका प्रमुख महर्जनले पनि आफूहरुले संविधान अनुसार स्थानीय पाठ्यक्रम लागू गरेको बताए । ललितपुर महानगरमा हाल कक्षा ३ सम्म पाठ्यक्रम लागू भएको जानकारी दिँदै उनले कक्षा १२ सम्म नेपालभाषा पाठ्यक्राको पढाइ हुनुपर्ने उनले बताए ।
यस्तै, कीर्तिपुर नगरपालिकाका मेयर रमेश स्थापितले स्थानीय पाठ्यक्रम लागू भएपछि नगरवासीहरु खुशी भएको बताए ।
‘नेवारसँगै गैरनेवारहरु पनि खुशी छन । गैर नेवार समुदायका मानिसहरु आफ्ना छोरा छोरीले एउटा थप भाषा सिक्ने अवसर पाएर भनेर भनिरहेका छन्। यसमा सबैको साथ छ,’ कीर्तिपुर नगरका प्रमुखले भने ।
यस्तै, कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्का रिजालले नेपालभाषा सबैले सिक्न पर्ने बताइन । कार्यक्रमको सुरुवातमा नेपालभाषामा नै सम्बोधन गरेकी उनले आफूलाई पनि सुरुमा गाह्रो भएको तर अहिले नेपालभाषा बुझ्न सक्ने र बोल्ने प्रयासमा रहेको बताइन ।
सो अवसरमा सहभागी वक्ताहरुले काठमाडौं, भक्तपुर र ललितपुरमा आउने पर्यटकलाई कीर्तिपुर तान्न नसकिएको भन्दै कीर्तिपुरलाई पर्यटकीय क्षेत्र बनाउन ‘मार्केटिङ’ र ‘ब्रान्डिङ’को आवश्यकता रहेको बताएका थिए । अब कीर्तिपुर नेवार परिकारहरुको रेष्टुराँ हब भएको भन्दै उनीहरुले कीर्तिपुरका सांस्कृतिक सम्पदा र त्यहाँ एड्भेन्चर टुरिजमको सम्भावनाको प्रचारप्रसार हुनुपर्ने बताएका थिए ।
महोत्सवमा नेपालभाषाका नाटक, गीत, कविता समेत प्रस्तुत गरिएको थियो। साथै नेपालभाषा पठनपाठनले साहित्यलाई कसरी टेवा दिन्छ भन्ने विषयमा पनि अन्तक्र्रिया भएको थियो ।
शुक्रवार भने ‘नेवाः ऋतु म्ये’ विषयमा वरिष्ठ संगीतकर्मी रामकृष्ण दुवालसँग अन्तक्र्रिया भएको थियो । विभिन्न साहित्यिक कार्यक्रमसँगै शुक्रवार पाँचवटा पुस्तक विमोचन गरिएको थियो ।
चौथो नेपालभाषा साहित्य नखः चैत्र ११ र १२ गते कीर्तिपुरमा सञ्चालन भएका थिए ।
Categorized in समाज