काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय भाषा (नेपाल भाषा) को शिक्षणको नेतृत्व आफूले लिएको बताएका छन ।
शनिवार नेपालभाषा स्यनामि (प्रशिक्षण सहायक) हरूको तर्फबाट नेपाल संवत ११४२ नयाँ वर्षको अवसरमा शंखधर पार्कमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले सो कुरा बताएका हुन ।
शाक्यले राजनीतिक, शैक्षिक र प्रशासनिक क्षेत्र तथा स्थानीयबासीबाट प्राप्त सहयोगबाट काठमाडौँ महानगरमा स्थानीय पाठ््यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सम्भव भएको बताउँदै नेतृत्व आफूले गरेको सुनाए ।
महानगरभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई महानगर बारे यथार्थ जानकारी होस, नगरप्रति अपनत्व बढोस भन्ने अभिप्रायले स्थानीय विषय स्थानीय भाषामै पढाउने निर्णय गरिएको प्रमुख शाक्यले जानकारी दिए ।
शाक्यले भने ‘कसैले कुरा बुझ्नु भएको छैन भने बुझाउने दायित्व हाम्रै हो । यो दायित्व स्यनामि (प्रशिक्षण सहायक) हरूमा आएको छ । नेपाल भाषा उच्चारण गर्दा अर्थ नलाग्ने शव्दहरु बोलिन थालेका थिए । अब भाषा अपभ्रंश हुनबाट जोगिन्छ भन्ने मैले विश्वाश लिएको छु ।’
सो अवसरमा कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भाषाको अध्ययनले ज्ञानको दायरा फराकिलो बनाउने तथा मौलिक भाषाको ज्ञानले परम्परागत रुपमा विकास हुँदै आएको सामाजिक व्यवस्थापन सम्बन्धी तथ्य थाहा हुने बताए ।

कार्यक्रममा नेपालभाषा स्यनामि सुनिता राजभण्डारी र अगिव बनेपालीले स्थानीय भाषा पढाउँदाको अनुभव सुनाउँदै, विद्यार्थीहरुमा चाख बढ्र्दै गएको बताए ।
कार्यक्रममा प्रमुख शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, कार्यपालिका सदस्य तथा अधिकारीहरुले शंखधर शाख्वा र नेपाल सम्बतका प्रवर्धक पदमरत्न तुलाधरको शालिकमा माल्यार्पण गरेका थिए ।

महानगरले सामुदायिक विद्यालय नेपाल भाषा अभ्यापन गराउन १७२ जना सहायक प्रशिक्षक नियुक्ति गरेको छ ।
Categorized in सम्पदा/संस्कृति