काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ । अक्सनमार्फत ‘ए’ क्याटेगोरीका नौ खेलाडीमध्ये चारजनालाई सबैभन्दा महँगो अर्थात १५ लाख रुपैयाँमा अनुबन्ध गरिएको छ ।
चितवन राइनोजले ए क्याटेगोरीका देव खनाललाई लक्की ड्र मार्फत अनुबन्ध गरेको हो । उनलाई चितवन र लुम्बिनी लायन्स दुवैले अधिकतम रकममा चाहेका थिए ।
त्यस्तै, अर्जुन साउदलाई पनि चितवनले लक्की ड्र मार्फत पाएको हो, जसका लागि विराटनगर किङ्स र कर्णाली याक्सले समेत प्रतिस्पर्धा गरेका थिए ।
पहिलो सिजनमा चोटका कारण अक्सनमा नपरेका पवन सर्राफमाथि चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले बोली लगाएका थिए । लक्की ड्रमा कर्णाली याक्स विजयी हुँदै उनले १५ लाखमा अनुबन्ध पाए ।
सबैभन्दा धेरै चासो पाएका आदिल आलममाथि आठै टोलीले बोली लगाएका थिए । न्यूनतम १० लाखबाट सुरु भएको बोली १५ लाखमा पुग्दा लक्की ड्रमार्फत काठमाडौं गोर्खाजले उनलाई अनुबन्ध गर्यो ।
ए क्याटेगोरीका अन्य खेलाडीमा दिलिप नाथ लुम्बिनी लायन्स र सूर्य तामाङ विराटनगर किङ्समा १० लाख रुपैयाँमा अनुबन्ध भए ।
अहिलेसम्म अक्सनमार्फत २६ खेलाडी अनुबन्ध भइसकेका छन् भने बाँकी स्लट ‘विश लिस्ट’ मार्फत भरिने आयोजकले जनाएको छ ।
Categorized in मनोरन्जन