७ मङ्सिर २०८२, आइतबार
Header

नेपाली कांग्रेस चुनावमा सहभागी हुने, महाधिवेशनको टुंगो लागेन


प्रकाशित: शनिवार, ६ कात्तिक २०८२, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । 


शनिवार सानेपास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले दुवै चुनावमा सक्रिय रूपमा भाग लिने स्पष्ट निष्कर्ष निकालेको हो । 


बैठकका निर्णयहरूको जानकारी महामन्त्री गगन थापाले दिएका थिए । 


माघ ११ गते निर्धारित राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने प्रक्रियालाई अघि बढाउने निर्णय पनि बैठकले अनुमोदन गरेको छ ।


कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेपनि उक्त विषय सर्वोच्च अदालतले टुङ्गो लगाउने जिम्मा भएको भन्दै पार्टीले आम निर्वाचनमा सहभागी हुने नीति लिएको जनाएको छ । 


सरकारलाई निर्वाचनको आवश्यक वातावरण निर्माण गर्न काँग्रेसले आग्रहसमेत गरेको छ । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता ल्याउने र फरार कैदीहरूलाई पुनः कारागारमा लैजानेतर्फ सरकार जिम्मेवार बन्नुपर्ने माग कांग्रेसले गरेको छ ।


असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक सहमति खोज्ने प्रयत्न गर्दै बीच–बीचमा स्थगित भएको थियो ।  


आजको बैठकले चुनावबारे स्पष्ट निर्णय निकालेपनि पार्टी महाधिवेशनका विषयमा भने केही दिनपछि थप छलफल गर्ने बताइएको छ । 


महाधिवेशनबारे सर्वसम्मत निष्कर्षमा पुग्न समय आवश्यक भएको नेताहरूले बताएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex