काठमाडौं । नेपालमा उमेर समूहअनुसार आम्दानी र खर्चबीच ठूलो असन्तुलन रहेको नेसनल ट्रान्सफर एकाउन्ट (National Transfer Accounts) अध्ययनले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत आम्दानी खर्चभन्दा बढी रहेको छ भने २७ वर्षभन्दा कम र ४६ वर्षभन्दा माथिको उमेर समूहमा जीवन चक्रीय अभाव (लाइफ साइकल डेफिसिट) रहेको पाइएको छ ।
प्रतिवेदनले २७–४६ वर्ष उमेर समूहलाई जीवनचक्र नाफा हुने प्रमुख कामकाजी उमेर समूहका रूपमा पहिचान गरेको छ ।
तर ०–२४ वर्षका बालबालिका तथा युवा र ६५ वर्षमाथि रहेका वृद्ध उमेर समूहमा आम्दानीभन्दा उपभोग बढी भएकाले जीवनचक्र घाटा रहेको उल्लेख गरिएको छ ।
ती उमेर समूहले परिवार तथा सार्वजनिक हस्तान्तरणमार्फत उपभोग धान्नुपर्ने अवस्था देखा परेको प्रतिवेदनमा उल्लेख छ ।
श्रम आम्दानीभन्दा खर्च ठूलो
प्रतिवेदनका अनुसार सन २०२१/२२ मा नेपालमा प्रति व्यक्ति कुल श्रम आम्दानी औसत ८७ हजार ८१४ रुपैयाँ रहेको छ ।
कुल श्रम आम्दानीमध्ये करिब ६९ प्रतिशत तलब तथा ज्यालाबाट र ३१ प्रतिशत स्वरोजगारबाट प्राप्त भएको पाइएको छ ।
उमेर समूहअनुसार २५–६४ वर्षको उमेर समूहमा तलब तथा ज्यालाबाट प्राप्त आम्दानीको हिस्सा सबैभन्दा ठूलो ७१ प्रतिशत छ भने ६५ वर्षमाथिको उमेर समूहमा यो हिस्सा ३५ प्रतिशत मात्र रहेको छ ।
देशको कुल उपभोगभन्दा कुल श्रम आम्दानी कम रहेकाले ठूलो जीवनचक्र घाटा रहेको पनि प्रतिवेदनले देखाएको छ। नेपाल श्रमशक्ति सर्वेक्षण २०१७/१८ ले देखाएको ११.४ प्रतिशत बेरोजगारी दरले श्रमआम्दानी र उपभोगबीचको खाडल अझै फराकिलो बनाएको विश्लेषण प्रतिवेदनमा गरिएको छ ।
“तथ्याङ्कले नीतिनिर्माणमा आधार दिन्छ”— अर्थमन्त्री
प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जीवनचक्रका फरक उमेरमा आम्दानी र खर्चको अवस्थाबारे स्पष्ट तस्वीर पेस गर्ने यो अध्ययनले नीतिनिर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताए ।
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, रोजगारी सिर्जना तथा औद्योगिक नीतिमा यसले मार्गदर्शन गर्ने उनको भनाइ थियो ।
“तथ्याङ्कबिनाको नीति प्रभावकारी हुँदैन,” उनले भने, “नेसनल ट्रान्सफर एकाउन्ट र गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदनले सरकारले के–कस्ता नीति निर्माण गर्नुपर्छ भन्ने स्पष्ट देखाएको छ ।”
पहिलोपटक विस्तृत जीवनचक्र खाता अध्ययन
कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी कमलप्रसाद पोख्रेलले नेसनल ट्रान्सफर एकाउन्ट प्रतिवेदन नेपालमा पहिलो पटक तयार पारिएको जानकारी दिए ।
प्रतिवेदनले विभिन्न उमेर समूहको आय, उपभोग, बचत र स्रोतको हस्तान्तरणको वास्तविक अवस्था समेटेको छ। गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन संघीय संरचना कार्यान्वयनपछि पहिलो पटक तयार गरिएको बताउँदै उनले संघ, प्रदेश र स्थानीय तहहरूलाई गरिबी लक्षित योजना बनाउन यसले सहयोग पुर्याउने अपेक्षा व्यक्त गरे ।
२० वर्ष अवधिमा मात्र जीवनचक्र नाफा
प्रतिव्यक्ति आधारमा हेर्दा २५–६४ वर्षमा उपभोग सबैभन्दा बढी र ०–२४ वर्षमा सबैभन्दा कम देखिएको छ ।
जन्मेदेखि २६ वर्षसम्म श्रम आम्दानीभन्दा खर्च बढी रहेर जीवनचक्र घाटा देखिएको, २७–४६ वर्षमा आम्दानी बढी भएर बचत देखिएको र ४७ वर्षपछि पुनः जीवनचक्र घाटा सुरु हुने प्रतिवेदनले उल्लेख गरेको छ ।
समग्र जीवनचक्रमा करिब २० वर्ष अवधिमात्र औसत रूपमा जीवनचक्र नाफा रहेको उल्लेख छ ।
प्रतिवेदनले कामकाजी उमेर समूह जनसंख्या ठूलो (१५–६४ वर्षका ६५ प्रतिशत) भएको वर्तमान संरचनाले आर्थिक वृद्धिका सम्भावना देखाए पनि श्रम सहभागिता दर ३८.५ प्रतिशत र युवा बेरोजगारी १२.७ प्रतिशत रहेकाले रणनीतिक नीतिगत हस्तक्षेप अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।
सीप विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र वृद्ध स्वास्थ्य कार्यक्रमको विस्तारलाई तत्कालीन प्राथमिकता दिनु पर्ने सुझाव प्रतिवेदनले दिएको छ ।
Categorized in राष्ट्रिय