काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा अध्यापन गराउनको लागि काठमाडौं महानगरले आर्थिक सहयोग प्रदान गरेको छ ।
बुधवार महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीलाई १५ लाखको चेक हस्तान्तरण गरेका छन ।
काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा नेपाल भाषाको स्नातकोत्तर तह सञ्चालन गर्न महानगरका प्रमुख शाक्य र क्याम्पस प्रमुख प्रा. डा. ज्ञवालीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरु सहभागी थिए ।
गएका कार्तिक १६ गते बसेको महानगरको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन महानगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
सो अवसरमा प्रमुख शाक्यले भने, ‘हामी सरकार हौँ । शिक्षाको प्रवर्धनका लागि जिम्मेवारी लिन्छौँ । हामीसँग नेपाल भाषा अध्ययन गर्न छात्रवृत्तिका लागि माग भएको थियो । त्यो माग सुनेपछि हामीले सरकारकै शैक्षिक संरचनालाई सहयोग गरेर धेरै विद्यार्थीलाई लाभ पुग्ने गरी सहयोग गर्ने निर्णय ग¥यौँ । आधारभूत तहमा नेपाल भाषा पढाउन थालेपछि आकर्षण बढेर गयो । यसलाई माथिल्लो तहसम्म पु¥याउन हामीले पैसा दिएका छौँ । यसलाई नियमित र दिगो बनाउने जिम्मा क्याम्पसको हो ।’
उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आधारभूत तहदेखि स्नातकोत्तर तहसम्म नेपाल भाषा अध्ययन अध्यापन गर्न महानगरको सहयोग रहेको बताईन । यसबाट स्थानीय चाडवाड, जात्रा पर्व, संस्कार, संस्कृति बुझ्न सहज हुने उपप्रमुख खड्गीश्रेष्ठको भनाई थियो ।
क्याम्पस प्रमुख ज्ञवालीले विद्यार्थी आए तर कक्षा सञ्चालन गर्न नभएपछि रोकिएको कक्षा चलाउन स्थानीय सरकारको जिम्मेवारी ठानेर महानगरसँग प्रस्ताव राखेको बताए ।
अहिले स्नातकोत्तर तहमा २२ जना विद्यार्थी अध्ययन गरिरहेका प्रमुख ज्ञवालीले जानकारी दिए ।
महानगरले उपलब्ध गराएको रकम भवनको भौतिक संरचना निर्माण गर्ने, २ जना शिक्षकलाई तलब दिने, पुस्तकालय निर्माण गर्ने र प्रशासकीय काम गर्ने प्रयोजनमा खर्च गर्नुपर्नेछ ।
यो सम्झौता ५ बर्षका लागि गरिएको हो ।
Categorized in समाज