अमेरिका स्थित जनकवि दुर्गालाल श्रेष्ठ प्रतिष्ठानको तत्वावधानमा नेपालभाषा चीहाः संकिपा नखः(शर्ट फिल्म फेस्टिभल)ने.सं.११३८ आयोजक समितिद्वारा आयोजित शर्ट फिल्म फेस्टिभलमा निर्देशक सुनिता राजभण्डारीको “हाःसः मदुगु (आवाज विहिन आवाज)” ले प्रथम पुरस्कार हासिल गर्न सफल भएको छ । आज विहीबार विहान विश्वज्योति हलमा सम्पन्न एक कार्यक्रममा उक्त महोत्सवमा सहभागी भएका सबै दस वटा चलचित्र प्रदर्शन गरिएको थियो भने तत्पश्चात पुुरस्कृतहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सो चलचित्र प्रदर्शन र पुरस्कार वितरण समारोहमा मानव अधिकारवादी नेता एवं आदीबासी आन्दोलनका अग्रज पद्मरत्न तुलाधर प्रमुख अतिथीका रुपमा उपस्थित हुनु भएको थियो भने प्रमुख अतिथीको तुलाधरबाट पुरस्कृतहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
प्रथम पटक आयोजित नेपालभाषा शर्ट फिल्म फेस्टिभलमा प्रथम स्थानमा रहन सफल चलचित्रलाई नगद ७५ हजार रुपैंयाको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो भने दोश्रो स्थानमा रहेको निर्देशक दर्शनबीर शाक्यको “द मिथ जिरो”लाई ५० हजार रुपैंयाको पुरस्कार प्रदान गरिएको थियो । यस्तै तेश्रो स्थानमा रहेका दुई वटा छोटा चलचित्रहरु निर्देशक रामकृष्ण खडगीको“अस्तित्व” र पोखराका चलचित्रकर्मि यादवदास भोछीभोय्को “भकुंग्वारा ख्वाः ( भकुण्डे भुत)”लाई जनही नगद २५ हजार रुपैंया सहितको पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको आसनबाट आफ्नो मन्तव्य राख्ने क्रममा समयको परिवर्तनसंगै अहिले सञ्चार र सुचना प्रविधीको विकास पछी भाषाको संरक्षण गर्ने सशक्त माध्यमको रुपमा चलचित्रले ठुलो स्थान लिइसकेको यथार्थलाई कसैलाई विर्सन सक्दैन भन्दै यस किसिमको भाषिक जागरणको पवित्र उद्देश्य बोकेको चलचित्र महोत्सवको महत्व वर्णन गरेर साध्य हुँदैन भनि आफ्नो राय व्यक्त गरे ।
आयोजक समितिका सदस्य गायक एवं सञ्चारकर्मि पवित्र कसाःले सञ्चालन गरेको कार्यक्रममा आयोजक समितिका अर्का सदस्य साहित्यकार एवं सञ्चारकर्मि सुरेशकिरण मानन्धरले कार्यक्रमको मुल उद्देश्यमाथि प्रकाश पार्दै आगामी वर्षको शर्ट फिल्म फेस्टिभलमा नेपालभाषामा प्रकाशित साहित्यिक कृतिमा आधारित लघु चलचित्रबीच प्रतिस्पर्धा गराउने कुराको पनि घोषणा गरे । यस वर्ष आयोजित प्रथम पटकको महोत्सवमामा उपरोक्त पुरस्कृत चलचित्रहरुका लगायत राकेश महर्जनको “म्हसीका(पहिचान)” , हर्के माइलाको “मांभाय् (मातृभाषा)”,कमलरत्न तुलाधरको “यांभाय् (दुर भाषा)”,सुरेन्द्र मानन्धरको “नेवाः झी नेवाः हे जुइ (नेवार हामी नेवार नै हौं)”,प्रज्वल शाक्यको “स्वचेतना” र पवन जोशीको “लिच्वः(परिणाम)” गरी दस वटा चलचित्रले भाग लिएको थियो भने सहभागी सबै चलचित्रहरुलाई जनही पाँच हजार रुपैंया प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो ।
Categorized in मनोरन्जन