काठमाडौं । नेपालभाषाको म्यूजिक भिडियो पनि गुणस्तरीय हुन थालेको वक्ताहरुले बताएका छन ।
मंगलवार नेपालभाषाको म्यूजिक भिडियो ‘छँगु लँ स्वैच्वंगु मिखा....’ गीत सार्वजनिक गर्ने क्रममा कार्यक्रममा सहभागी वक्ताहरुले सो कुरा बताएका हुन ।
आर.बी. इन्टरटैनमेन्टको ब्यानरमा निर्मित उक्त म्युजिक भिडियो प्रिमियरको विशेष अथिति तथा वरिष्ठ सिने पत्रकार बिजयरत्न अंशवरेले नेपाल भाषाको म्युजिक भिडियो संख्यात्मक रुपमा मात्र नभई गुणस्तरयुक्त पनि हुन थालेको बताउँदै खुसी व्यक्त गरेका थिए ।
उनले भने,‘पछिल्लो समय नेपालभाषाको म्युजिक निर्माण गर्न सक्रिय युवापुस्ताहरुले गरेको काम प्रशंसनीय छ । आगामी दिनमा झनै स्तरीय म्यूजिक भिडियोहरु दर्शकले हेर्न पाउने आफूलाई विश्वास छ ।’

कार्यक्रमका प्रमुख अथिति रहेका मध्यपुर ठिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नगरक्षेत्रमा भाषाप्रति समर्पित कलाकारहरु देख्दा आफूलाई गौरव लागेको बताउँदै कला, सिर्जनाका लागि नगरले गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त समेत गरे ।
राष्ट्रिय नाचघरका प्रमुख प्रभाकारदेव शर्माले पनि नेपालभाषाको म्युजिक भिडियोहरु आफूलाई औधी मनपर्ने भएको बताए । उनले भने,‘ भाषा संरक्षणमा नयाँ पुस्ता सक्रिय रुपमा लाग्नु पर्छ । भाषा, संस्कृति जोगाउन मातृभाषाको गीत संगीतको ठुलो भूमिका हुन्छ ।’
राजन शाहीको निर्देशनमा तयार भएको उक्त म्यूजिक भिडियोमा निर्देशक तथा कलाकार रविन शाही, रेश्मी महर्जनले अभिनय गरेका छन भने कल्पना श्रेष्ठको स्वर रहेको छ ।
बिजय कायस्थको संगीत रहेको म्युजिक भिडियोलाई मनोजरत्न शाहीले सम्पादन गरेका छन भने दर्शनवीर शाक्यको गीत तथा कथाबस्तुमा म्यूजिक भिडियो तयार भएको हो ।
कार्यक्रममा विभिन्न कलाकारहरुलाई सम्मान समेत गरिएको थियो ।
Categorized in मनोरन्जन