काठमाडौं । नेपाल सरकारको तिर्नुपर्ने सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म यो ऋण २४ खर्ब ३८ अर्ब रुपैयाँ थियो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै दुई खर्ब ३१ अर्ब रुपैयाँ ऋण थपिएको छ ।
यो वृद्धिमा एक खर्ब ५२ अर्ब रुपैयाँ वास्तविक ऋण थपिएको हो भने बाँकी ६६ अर्ब ९३ करोड रुपैयाँ विदेशी मुद्राको विनिमय दर उच्च भएकाले थपिएको दायित्व हो ।
सरकारले आर्थिक वर्ष २०८०/८१ मा ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको थियो। तर, त्यसअनुसार ४ खर्ब ५६ अर्ब रुपैयाँ मात्र ऋण उठाइएको छ ।
आन्तरिक ऋणमा लक्ष्य अनुसार उठान, बाह्य ऋणमा कमी
उक्त वर्ष सरकारले ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो, जुन पूर्ण रूपमा उठाइएको हो ।
तर, बाह्य ऋणको लक्ष्य २ खर्ब १७ अर्ब रुपैयाँ भए पनि ५७ प्रतिशत मात्रै उठाइएको छ। परिणामस्वरूप एक खर्ब ५२ अर्ब रुपैयाँ मात्र बाह्य ऋण संकलन गरिएको हो।
सावा फिर्ता पनि उल्लेखनीय
गत आर्थिक वर्षमा २ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको सावा फिर्ता गरिएको छ ।
यसमध्ये २ खर्ब ४३ अर्ब ९१ करोड रुपैयाँ आन्तरिक ऋणको र ४८ अर्ब ५६ करोड रुपैयाँ वैदेशिक ऋणको सावा तिरिएको हो ।
हालको ऋण अवस्था
हाल सरकारको कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ६३ अर्ब रुपैयाँ र बाह्य ऋण १४ खर्ब एक अर्ब रुपैयाँ पुगेको छ ।
वित्तीय अनुशासन, ऋण व्यवस्थापनमा सुधार र स्रोत परिचालनमा पारदर्शिता नआउँदासम्म यो ऋण भार अझै बढ्न सक्ने अर्थविद्हरूको भनाइ छ।
Categorized in बैंक