काठमाडौँ । नेपालको आर्थिक विकास र समृद्धिमा चीनको निरन्तर सहयोग हुने नेपालका लागि चिनिया राजदूत हउ यान्छीले प्रतिबद्धता जाहेर गरेका छन ।
अर्थमन्त्री युवराज खतिवडासँग आईतबार अर्थ मन्त्रालयमा भएको भेटमा सो प्रतिवद्धता राजदूत हउले गरेका हुन ।
राजदूत हउले सो भेटमा नेपालमा भौतिक संरचना निर्माण, पर्यटन, कृषि, ऊर्जा, भूकम्पपछिको पुनःनिर्माणलगायत परियोजनामा चीन सरकारबाट निरन्तर सहयोग हुने जनाएको छ ।
चिनियाँ राजदूत हउले आगामी चैत १५ र १६ गते नेपालमा हुने लगानी सम्मेलनमा धेरैभन्दा धेरै चीनका लगानीकर्तालाई सहभागी गराउन प्रयास हुने जानकारी दिए ।
उनले आफ्नो देशको सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका आयोजनामा प्रयोग हुने सामग्रीमा कर छुटको व्यवस्था गर्न आग्रह समेत गरे ।
सो भेटमा मन्त्री खतिवडाले चीनसँग सीमा जोडिएका व्यापारिक नाका सञ्चालन भएमा नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने वास्तविकता सुनाउँदै दुई देशबीचमा हुने अनौपचारिक व्यापारलाई औपचारिक रुपमा रुपान्तरण गर्न जोड दिए ।
अर्थमन्त्री खतिवडाले व्यापार विस्तारमा सहजको लागि चिनियाँ बैंकका शाखा नेपालमा विस्तारका निम्ति चिनिया राजदूत हउसँग आग्रह समेत गरे ।
Categorized in राष्ट्रिय