ललितपुरमा मनाइने नृसिंह जात्राको व्यवस्थापनको लागि लक्षाहुति यज्ञ गरिने भएको छ । नृसिंह जात्राको दीगो व्यवस्थापनको लागि कोष खडा गर्नुका साथै देशमा शान्ति र जन कल्याणको कामना सहित उपत्यकाका राजोपाध्याय ब्राम्हणहरुबाट आउँदो चैत्र १० गतेबाट श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ गरिन लागेको हो ।
ललितपुरका राजोपाध्यायहरुको उपाकर्म गुठी अन्तर्गत श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ आयोजक समितिबाट उपत्यकाका आदिवासी कौलिक देव ब्राह्मण राजोपाध्यायहरूको सक्रियतामा उक्त यज्ञ हुन लागिरहेको हो । चैत्र १० गते शुरु हुने यज्ञको समापन भने १६ गते हुनेछ ।
सात दिनसम्म निरन्तर हुने सो यज्ञमा चैत्र १० गतेका दिन पञ्चगव्य साधन, वृद्धि श्राद्ध र मूल कलश स्थापना गरिनेछ भने ११ गते अग्नि स्थापना गरी देवी मन्त्रबाट आहुति आरम्भ, चतुर्वेद पाठ, सिद्धेश्वर महादेवलाई जलाभिषेक, श्री सप्तसती चण्डी पाठ र श्री पूर्णचण्डी देवीको पूजा गरिनेछ ।
१२, १३ र १४ गते – साविक कार्यहरु गरिनेछ भने १५ गते साविक कार्य, तर्पण र मार्जन र अन्तिम दिन १६ गते दुर्गा देवीको व्रतपूजा, कुमारी पूजा तथा यज्ञ विसर्जनको साथमा यज्ञ सम्पन्न हुनेछ ।
यस यज्ञको मूख्य उद्देश्य भनेको नै देशमा शान्ति र सुव्यवस्थाको कामनाको साथमा ललितपुरको नृसिंह जात्राको दीगो व्यवस्थापन रहेको समितिका संयोजक श्रीजय शर्मा राजोपाध्यायले बताउनुभयो । जात्राको दीगो व्यवस्थापनका लागि यज्ञबाट संकलित रकमबाट कोष खडा गरिने संयोजक राजोपाध्यायले बताउनुभयो ।
आर्थिक श्रोत र सरकारी सहयोगको अभावमा नृसिंह जात्राको ठुलो आर्थिक भार पालोवाला नै व्यहोरी रहनुपरेको संयोजक राजोपाध्यायले जानकारी दिनुभयो । आर्थिक समस्याका कारण सो जात्राको निरन्तरतामा समस्या नहोस् भन्ने उद्देश्य लिएर यो यज्ञ गर्न लागेको राजोपाध्यायको भनाई हो ।
ललितपुरमा हरेक वर्ष उपाकर्म गुठीबाट भाद्र कृष्ण पञ्चमीका दिन नृसिंह जात्रा मनाइँदै आइरहेको छ । शान्त स्वभावका नृसिंहको सो जात्रा ३८८ वर्षभन्दा अगाडीबाट संचालन हुँदै आएको गुठीले जनाएको छ । नारायणको चौथो अवतारको रुपमा लिइने नृसिंहको जात्रा नेपालको मात्र नभई सम्भवतः विश्वकै एकमात्र नृसिंह जात्रा भएको गुठीको दावी छ ।
देशकै कल्याणको कामना सहित ललितपुरकै पहिचान बनेको नृसिंह जात्रा व्यवस्थापनको लागि हुन लागेको सो यज्ञमा सक्दो आर्थिक, भौतिक सहयोग गरिदिनको साथै सहभागीताको लागी समेत समितिले आम जन समुदायमा अपील गरेको छ ।
Categorized in समाज