काठमाडौं । भारतको नयाँ दिल्लीस्थित भारतीय विद्यापीठ र सार्क जर्नलिस्ट फोरम (इण्डिया च्याप्टर) को आयोजनामा सम्पन्न दक्षिण एसियामा शान्ति स्थापना र सहकार्यमा पत्रकारिताको भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका नृपेन्द्रलाल श्रेष्ठलाई युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, भुटान लगायत दक्षिण एसियाली मुलुकका पत्रकारहरूबीच शान्ति स्थापना, क्षेत्रीय सहकार्य र पत्रकारिताको भूमिकाबारे व्यापक छलफल भएको थियो ।
भारतीय विद्यापीठका निर्देशक प्राध्यापक एम.एन. होदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव मो. अब्दुर रहमान, सदस्य इस्मिता मिश्रा, श्रीलङ्का च्याप्टरका अध्यक्ष राहुल सामन्था तथा इण्डिया च्याप्टरका अध्यक्ष अनिरुद्ध सुधांशु लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय सदस्य भुटानका रिन्जिन वाङचुक तथा पाकिस्तान च्याप्टरका महासचिव हुश्नयन चौधरीले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेका थिए ।
सम्मेलनमा सहभागी वक्ताहरूले सार्क क्षेत्रभित्र शान्ति स्थापना चुनौतीपूर्ण भए पनि पत्रकारितामार्फत संवाद, समझदारी र सहकार्य प्रवद्र्धन गर्न सकिनेमा जोड दिएका थिए ।
यसै अवसरमा सार्क जर्नलिस्ट फोरम इण्डिया च्याप्टरद्वारा स्थापित यस वर्षको तेस्रो युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता सम्मानबाट नेपालका नृपेन्द्रलाल श्रेष्ठ, भारतका शशिभुषण कुमार तथा श्रीलङ्काका एक पत्रकारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राजु लामा, अब्दुर रहमान, राहुल सामन्था, रुद्र सुवेदी, सदाव मलिक, दिपेन्द्र प्रजापती, शैलेश साह कानु, अभिलाष गुप्ता, अजमत अली लगायतका पत्रकारहरूलाई पनि अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।
Categorized in समाज