२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

निष्पक्ष छानविन होस, बल प्रयोग गर्न आदेश नदिएको लेखकको दावी


प्रकाशित: सोमवार, १४ पुस २०८२, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष, वस्तुनिष्ठ, तथ्यपरक तथा पूर्वाग्रहरहित ढंगले सूक्ष्म अध्ययन गर्न जाँचबुझ आयोगलाई सुझाव दिएका छन ।


आइतबार आयोगसमक्ष बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै तत्कालीन गृहमन्त्री लेखकले आयोगले सम्पूर्ण घटनाक्रमको गहिरो विश्लेषण गरी प्रतिवेदन तयार पार्नुपर्ने र त्यसका आधारमा सरकारलाई सिफारिस गर्नुपर्ने बताए । 


उनले भने, “आयोगले भदौ २३ र २४ गते भएका घटनाहरूलाई निष्पक्ष, वस्तुनिष्ठ, तथ्यपरक र पूर्वाग्रहरहित रूपमा अत्यन्त सूक्ष्म ढंगले अध्ययन गरी आफ्नो प्रतिवेदन तयार गरोस् र सरकारलाई सिफारिस गरोस भन्ने निवेदन मैले आयोगलाई दिएको छु ।”


लेखकले आवश्यक परेमा पुनः बयान दिन तयार रहेको जानकारी पनि गराए । 


“आवश्यक परेमा फेरि पनि बोलाउनुन भनेको छु । थप बुझ्नुपर्‍यो भने, जान्न वा सुन्नुपर्ने भए म आउँछु,” उनले भने ।


उनले आफू जवाफदेहितामा विश्वास गर्ने उल्लेख गर्दै यस्ता अध्ययनहरूले वर्तमान मात्रै नभई भविष्यका लागि पनि दिशानिर्देश गर्ने विश्वास व्यक्त गरे ।


“प्रश्न उठ्छन भने तिनको जवाफ दिनुपर्छ भन्नेमा म विश्वास गर्छु,” उनले थपे । 


लेखकले जेन–जी आन्दोलनका क्रममा आफूले गोली चलाउने वा बल प्रयोग गर्ने कुनै पनि आदेश नदिएको दाबी गरेका छन ।

 
आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूबाट कुनै पनि किसिमको लिखित वा मौखिक आदेश नदिइएको स्पष्ट पारे । उनले भने, “मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने वा कुनै प्रकारको आदेश दिएको छैन। दिनुपर्ने कारण पनि छैन, कानुनी व्यवस्था पनि छैन ।”


लेखकले घटनापछि आफू अत्यन्तै पीडित र मर्माहित भएको उल्लेख गर्दै पदीय मर्यादा र नैतिकताको आधारमा राजीनामा दिएको जिकिर गरे ।


 “कति बल प्रयोग गर्ने, कसरी गर्ने भन्ने कुनै निर्देशन मैले दिएको छैन । तर म अत्यन्तै पीडामा परेर पदीय मर्यादाका कारण राजीनामा गरेको हुँ। नैतिकताको आधारमा मैले पद छोडेको हुँ,” उनले भने ।


उनले थप प्रश्न गर्दै भने, “मैले मान्छेलाई मार भनेर आदेश दिन सक्छु ? त्यस्तो गलत कर्म मबाट हुन सक्छ ? हुँदैन ।”


जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको भूमिकालाई लिएर विवाद चर्किरहेका बेला लेखकको यो अभिव्यक्ति आएको हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex