काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन तयारी र समग्र सुरक्षा अवस्थाबारे मंगलबार सबै सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएकी छन ।
मंगलबार साँझ बालुवाटार मा सुरक्षा प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री कार्कीले पछिल्लो सुरक्षा अवस्था र निर्वाचन तयारीबारे जानकारी लिएकी हुन्। बैठकमा विभिन्न सुरक्षा निकायले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
ब्रिफिङपछि प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै सम्भावित चुनौतीप्रति सतर्क रहन निर्देशन दिएकी थिइन ।
नेपाली सेना ले देशभर २७५ स्थानमा बम डिस्पोजल टोली परिचालनमा रहने, स्ट्यान्डबाइ हेलिकप्टर तयारी अवस्थामा राख्ने तथा मतदान सामग्री ढुवानी व्यवस्थापनबारे जानकारी गराएको थियो । सेनाले हालसम्म १३ स्थानमा शंकास्पद वस्तु निष्क्रिय पारिसकेको जनाएको छ ।
सुरक्षा निकायका अनुसार अहिलेको मुख्य चुनौती सामाजिक सञ्जालमार्फत फैलिने अफवाह र गलत सूचना (मिसइन्फरमेशन तथा डिसइन्फरमेशन) रहेको छ ।
विशेषगरी मौन अवधिको पूर्वसन्ध्यामा यस्ता गतिविधि बढ्न सक्ने भन्दै यसबारे गहन छलफल भएको बताइएको छ ।
यसक्रममा प्रधानमन्त्री कार्कीले आफ्नै अनुभव सुनाउँदै सामाजिक सञ्जालमा आफूले राजीनामा दिएको भन्ने हल्लासमेत फैलिएको प्रसंग उल्लेख गरिन् । यस्ता भ्रामक सूचनाप्रति थप सजग रहन उनले निर्देशन दिएकी थिइन ।
सुरक्षा निकायले हाल सबैभन्दा बढी सुरक्षा फौज परिचालन गरिएको र आवश्यक परे थप टोली ३० मिनेटभित्र तथा थप आवश्यक परे ९० मिनेटभित्र परिचालन गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
हरेक दिन गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने र दैनिक समीक्षा गर्ने व्यवस्था गरिएको छ। प्रत्येक प्रदेशमा एक एआईजी तथा गृह मन्त्रालयबाट एक सहसचिव खटाइने जनाइएको छ ।
अत्यधिक मत खसेका स्थानमा विशेष निगरानी गरिने, त्यस्ता स्थानमा यसअघि खटिएका कर्मचारीलाई पुनः नखटाइने तथा गडबडी प्रमाणित भए कारबाही गरिने तयारी रहेको सुरक्षा निकायले जनाएको छ ।
सम्भावित झडप रोक्न प्रत्येक उम्मेदवारका एक प्रतिनिधिलाई जिल्ला सुरक्षा समितिसँग समन्वयमा राख्ने तथा फरक–फरक दलका उम्मेदवारबीच प्रत्यक्ष भेट नहुने गरी घरदैलो कार्यक्रमको रुट निर्धारण गरिएको पनि ब्रिफिङमा जानकारी गराइएको थियो ।
Categorized in राष्ट्रिय