काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले विस्तृत तयारी अघि बढाएको छ ।
आयोगले तयार पारेको प्रारम्भिक कार्यतालिका अनुसार निर्वाचन प्रचारप्रसारका लागि १५ दिनको समय उपलब्ध गराइने भएको छ ।
आयोगका अनुसार प्रचार अवधि फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म हुनेछ । सोही अवधिमा राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो नीतिगत दृष्टिकोण र एजेन्डा सार्वजनिक गर्न पाउनेछन ।
फागुन १८ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि सुरु हुने र त्यसपछि कुनै पनि प्रचारात्मक गतिविधि गर्न नपाइने आयोगले स्पष्ट गरेको छ । मतदान फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
निर्वाचन आयोगका अनुसार मतदाता नामावली संकलन र अद्यावधिक कार्य कात्तिक ३० गतेसम्म चल्नेछ ।
यस अवधिभित्र दलहरूले निर्वाचन प्रयोजनका लागि आवश्यक दर्ता पनि सकाउनुपर्नेछ ।
राजनीतिक दल दर्ता प्रक्रिया मंसिर १ देखि १० गतेसम्म सञ्चालन हुने र त्यसपछि निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन मंसिर १० गते गरिने तयारी छ ।
Categorized in राष्ट्रिय