काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दललाई असोज ३० गतेका लागि बोलाएको छ ।
आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका र गत स्थानीय तह निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म निर्वाचित भएका राजनीतिक दलहरूलाई छलफलमा सहभागी हुन पत्राचार गरेको हो ।
उनका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूलाई पत्र पठाइएको छ ।
आयुक्त डा. तुलाधरले भनिन्, “आगामी निर्वाचनका तयारीबारे राजनीतिक दलहरूको सुझाव लिएर मात्र अन्तिम निर्णय गरिनेछ ।”
यसअघि आयोगले असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।
तर त्यो आयोगको आन्तरिक कार्ययोजनाका लागि मात्र रहेको र औपचारिक निर्वाचन कार्यक्रम राजनीतिक दलहरूसँगको छलफलपछि तय गरिने आयोगले जनाएको छ ।
Categorized in राष्ट्रिय