७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

निर्वाचन आयोगमाथि कांग्रेस आधिकारिकता टुंग्याउन चर्को दबाब


प्रकाशित: शुक्रवार, २ माघ २०८२, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विवाद छिटो टुंग्याउन निर्वाचन आयोगमाथि समयको चर्को दबाब परेको छ । 


कांग्रेसका देउवा समूह र विशेष महाधिवेशनबाट बनेको गगन–विश्व समूहका नेताहरू निरन्तर आयोग पुगेर ज्ञापनपत्र, ध्यानाकर्षण र भेटघाटमार्फत दबाब बढाइरहेका छन ।


दुवै पक्षले भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन वैधानिक वा अवैधानिक भएको विषयमा आ–आफ्नो दाबी प्रस्तुत गरेका छन । 


विशेष महाधिवेशन हुनासाथ गगन–विश्व समूहले आयोगमा महाधिवेशन सम्पन्न भएको जानकारी गराएको थियो भने देउवा पक्षले त्यस्तो कुनै वैधानिक महाधिवेशन नभएको भन्दै प्रतिवादसहित पत्र बुझाएको थियो ।


महाधिवेशनपछि दुवै पक्षले अभिलेख अद्यावधिकका लागि निवेदन दिएका छन ।

 

आयोगका अनुसार चौतर्फी दबाबका कारण नियमित काम गर्नसमेत कठिनाइ भएको निष्कर्षसहित आयोगले सक्दो छिटो निर्णय सुनाउने तयारी गरेको छ । 


यसैबीच देउवा नेतृत्वको कांग्रेसले आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आयोगले आफूहरूलाई मान्यता नदिए गाउँ–गाउँमा चारतारे झण्डासहित आन्दोलन गर्ने बताए ।


तर विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीले निर्वाचन आयोग प्रभावित नहुने विश्वास व्यक्त गरे । 


आयोगका पदाधिकारीलाई भेट्दै उनले भने, “निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौं ।”


गगनकुमार थापाको नेतृत्वमा रहेको कांग्रेस केन्द्रीय कार्यसमितिले पनि आयोगमा पार्टी विधानको व्यवस्था प्रष्ट पारेको छ । 


उपसभापति शर्माका अनुसार विधानको धारा १७(२) अनुसार ५४ दशमलब ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागमा विशेष महाधिवेशन बोलाइएको हो ।


“महाधिवेशन प्रतिनिधिले पाएको सार्वभौम अधिकार प्रयोग गर्न नपाएपछि हामीले विधानअनुसार विशेष महाधिवेशन आह्वान गरेका हौं,” शर्माले भने, “पुस २७ देखि ३० सम्म सम्पन्न महाधिवेशनले नीति मात्र होइन, नेतृत्व पनि परिवर्तन गरेको छ ।”


अर्की उपसभापति पुष्पा भुसालले पनि ५७ दशमलब २१ प्रतिशत प्रतिनिधिको हस्ताक्षरबाट पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति चयन भएको भन्दै आयोगले विवरण तत्काल अद्यावधिक गर्न आग्रह गरिन ।


निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हाल राजनीतिक दलहरूसँग छलफल भइरहेको र त्यसपछि बैठक बसेर निर्णय हुने बताए । “आजै के हुन्छ भन्न सकिँदैन, तर ढिलोसम्ममा केही जानकारी आउन सक्छ,” उनले भने ।


कांग्रेसको आधिकारिकता विवाद अब आयोगको निर्णयमा निर्भर बनेको छ भने त्यसको प्रभाव आगामी निर्वाचन प्रक्रियामा समेत निर्णायक हुने देखिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex