७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

निर्वाचनमा युवा मतदाता बाहुल्य तर उम्मेदवारमा भने वृद्ध उमेरकै दबदबा


प्रकाशित: आइतवार, ११ माघ २०८२, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । आसन्न निर्वाचनका लागि देशभरबाट ३ हजार ४ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन । 


तीमध्ये विभिन्न राजनीतिक दलका २ हजार २ सय ६३ जना रहेका छन् भने १ हजार १ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन ।


भदौमा भएको जेन–जी आन्दोलनको मुख्य मागमध्ये राजनीतिमा पुस्तान्तरण पनि एक थियो । त्यसैले दलहरूले कुन उमेर समूहका उम्मेदवार उठाए भन्ने विषय सबैको चासोको केन्द्रमा छ । तर उम्मेदवारको सूची हेर्दा वृद्ध उमेर समूहकै बाहुल्य देखिएको छ ।


यी उम्मेदवारलाई मतदान गर्ने मतदातामध्ये भने युवाको संख्या धेरै छ । २०७८ को जनगणनाअनुसार नेपालको जनसंख्याको ४२.५६ प्रतिशत युवा छन । राष्ट्रिय युवा नीति २०७२ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिन्छ । 


हाल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्यामध्ये १ करोड २४ लाख १२ हजार १ सय ७३ युवा रहेका छन ।


२०६८ मा कुल जनसंख्याको ४०.३५ प्रतिशत रहेको युवा हिस्सा २०७८ मा बढेर ४२.५६ प्रतिशत पुगेको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि कुल मतदाता १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएका छन । 


मतदाताको संरचनामा पनि युवाकै बाहुल्य देखिन्छ । कुल मतदातामध्ये १८ देखि ४० वर्ष उमेर समूहका मतदाता ५२ प्रतिशत छन । संविधानअनुसार १८ वर्ष पुगेकालाई मात्र मतदान अधिकार दिइन्छ ।


निर्वाचन आयोगका अनुसार कुल ३ हजार ४ सय ६ उम्मेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका उम्मेदवार १ हजार ५६ जना छन । 


त्यस्तै, ४१ देखि ६० वर्ष उमेर समूहका उम्मेदवार १ हजार ९ सय २५ जना छन् भने ६० वर्ष कटेका उम्मेदवार ४ सय २५ जना रहेका छन ।


मतदाता संरचनामा युवा धेरै भए पनि उम्मेदवारमा भने मध्यम र वृद्ध उमेर समूहको दबदबा देखिँदा राजनीतिमा पुस्तान्तरण अझै चुनौतीपूर्ण बनेको विश्लेषकहरू बताउँछन ।


फाइल तस्वीर

asteriskhubs
Home Page Bottom Second


maharjan complex