काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको लागि भोली (मंसिर ४ गते) हुने निर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनााएको छ ।
शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएका छन ।
प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान हुदैछ र देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका आयोगले जनाएको छ ।
आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत गरेर मतपेटिकामा खसाल्नका लागि सहज हुने गरी सबै तयारी सम्पन्न भएको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै चुनावका लागि नै भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।
प्रतिनिधिससभामा देशभरका १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।
त्यस्तै प्रदेशसभामा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् ।
Categorized in राष्ट्रिय