काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले ‘नारायण गोपाल–पेमला गीत गंगा भवन’को उद्घाटन गरेकी छन ।
महानगरको आर्थिक सहयोगमा बनेको भवन नारायण गोपालको ३५औँ स्मृति दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।
उक्त अवसरमा नारायण गोपाल संगीत कोषले विशेष सांगीतिक कार्यक्रमसमेत आयोजना गर्यो ।
उद्घाटन कार्यक्रममा उपप्रमुख डंगोलले नारायण गोपालका गीतहरू नेपाली मनको भावनासँग गहिरो रूपमा जोडिन सक्ने भएकै कारण दीर्घकालसम्म जीवन्त रहेको उल्लेख गरिन ।
कार्यक्रममा महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, कोषका अध्यक्ष दीपक के.सी.लगायतका वक्ताहरूले नारायण गोपालको सांगीतिक योगदान र नेपाली गीत–संगीतलाई दिएको उचाइबारे स्मरण गरे ।
कार्यक्रममा कलाकारहरूले नारायण गोपालका लोकप्रिय गीतहरू प्रस्तुत गरे ।
भवन निर्माणका लागि २०७९ चैत ७ मा कार्यादेश दिइएको थियो। करिब २ करोड ८ लाख रुपैयाँ लागतमा बनेको चारतले भवनमा भूमिगतसहित १० वटा चारपांग्रे र करिब २० वटा दुचक्के सवारी साधन पार्किङको सुविधा छ । भवनको बाहिरी संरचना परम्परागत नेपाली शैलीमा तयार गरिएको छ ।
१ रोपनी क्षेत्रफलभित्र निर्मित सो भवन १,५४६ वर्गफुट प्लिन्थ क्षेत्रमा रहेको र कुल ६,५५६ वर्गफुट निर्माण क्षेत्र भएको महानगरले जनाएको छ ।
भवनसँगै रहेको नारायण गोपालले निर्माण गरेको पुरानो सेतो घरलाई संग्रहालयको रूपमा विकास गर्ने योजना समेत छ ।
Categorized in मनोरन्जन