काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले खुलाएको नागरिक बचतपत्र अत्यधिक मागका कारण ८ दिनमै बिक्री सकिएको छ ।
कात्तिक २५ गतेदेखि एक महिनाको अवधि दिएर साढे २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र जारी गरिएको थियो । तर मंसिर ४ गते दिउँसो ११ बजे नै लक्ष्य बराबरको आवेदन भएसँगै बिक्री बन्द गरिएको कार्यालयले जनाएको छ ।
नागरिक बचतपत्र, विकास ऋणपत्र र ट्रेजरी बिल्समार्फत सरकारले आन्तरिक ऋण उठाउने गर्छ । त्यसमध्ये नागरिक बचतपत्र पछिल्लो समय सर्वसाधारणका लागि आकर्षक बनेको छ ।
वाणिज्य बैंकहरूले प्रदान गर्ने औसत ब्याजदर घटेकाले नागरिक बचतपत्रमा रुचि बढेको कार्यालयको मूल्यांकन छ। अहिले बैंकहरूको औसत ब्याजदर ५.५ प्रतिशतमात्र छ ।
तर नागरिक बचतपत्रमा सरकारले ६.५ प्रतिशत ब्याज सुनिश्चित गरेको छ, जुन ६६ महिनामा भुक्तानी गरिने छ ।
वाणिज्य बैंकहरूको तुलनामा सुरक्षित र उच्च ब्याज पाउने भएकाले सर्वसाधारणको आकर्षण बढेको र छोटो समयमै लक्ष्य रकम जुट्न सफल भएको कार्यालयले जनाएको छ ।
Categorized in बजार