९ भाद्र २०८३, मंगलबार
Header

नागरिकता विधेयक समितिबाट पारित, आमाको नामबाट पनि नागरिकता लिन सकिने


प्रकाशित: बुधवार, २८ जेठ २०८२, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा  सुशासन समितिबाट नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।


मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त विधेयक सर्वसम्मतरूपमा पारित गरेको हो । 


समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिहरूलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, विधेयक सर्वसम्मत रूपमा पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद पनि दिए ।


सभापति खतिवडाले समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयक छिट्टै संसदमा पेस गरिने जानकारी समेत दिएका छन्।


विधेयकमा आमाका नामबाट मात्र पनि नागरिकता दिन सकिने कानुनी व्यवस्था समेटिएको छ । 


नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न ल्याइएको विधेयकमा आमा वा बाबु दुबैका नामबाट नागरिकता लिन सकिने र बाबुको नाम नखुलेमा आमाको स्वघोषणाका आधारमा वंशज वा अंगीकृत नागरिकता दिन सकिने व्यवस्था गरिएको छ । 


बाबुको नाम झूटो ठहरिएमा दण्डको व्यवस्था गरिएको छ ।


नाबालकका लागि परिचयपत्र जारी गर्ने, जिल्ला र इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने, र नायब सुब्बा तहका कर्मचारीलाई नागरिकता दिन सक्ने अधिकार दिने व्यवस्था समेत विधेयकमा समेटिएको छ।


अब विधेयक प्रतिनिधिसभामा पेश भई पारित भएपछि राष्ट्रिय सभामा पठाइनेछ । अन्तिम प्रमाणीकरणपछि ऐनका रूपमा कार्यान्वयनमा जानेछ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex