काठमाडौँ । विगत ९ महिनादेखि थन्किएर रहेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेका छन ।
बुधवार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेश रेग्मी भट्टराईले जानकारी दिएका छन ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदले दुुई पटक २०७९ साउन १६ र भाद्र २० मा प्रमाणिकरणको लागि पठाए पनि पारित गरिएको थिएन ।
विधेयकमा चित्त नबुझेको भन्दै पुर्व राष्ट्रपति भण्डारीले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन ।
विधेयक प्रमाणिकरण पछि ‘२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने भएको छ ।
कानुन नहुँदा यसअघि जन्मका आधारमा नागरिकता लिएका सन्तानमध्ये ५ लाखभन्दा बढी नागरिकताबाट वञ्चित भएको तथ्यांक छ ।
विधेयकमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने रहेको छ ।
त्यसैगरी, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने, विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेलगायतका प्रावधान विधेयकमा छन ।
Categorized in राष्ट्रिय