काठमाडौं । राजेन्द्र बज्राचार्य नविन्द्रराज जोशी स्मृति तेस्रो फिडे रयापिड (१९०० मुनि) चेस प्रतियोगिताको विजेता बन्नुभएको छ ।
जेठ १५ र १६ गते सम्पन्न ९ चरणीय प्रतियोगितामा बज्राचार्यले ८ अंक जोड्दै उपाधि जित्न सफल हुनुभएको हो ।
समान ८ अंक नै हासिल गर्नुभएका रुकुमका मिलन रोका टाइब्रेकका आधारमा दोस्रो स्थानमा सीमित हुनुभयो भने मोरङका उमेश राई तेस्रो स्थानमा रहनुभयो ।
चितवनका सन्तोष गौत्तम चौथो, पाँचथरका महेन्द्रकुमार साम्बाहाम्फे पाँचौं, काठमाडौंका जनार्दन श्रेष्ठ छैटौं, काभ्रेका योगेश श्रेष्ठ सातौं, काठमाडौंका रमेश वीर माली आठौं, झापाका डा। सुशन गौत्तम नवौं तथा दोलखाका कविन्द्र शिवाकोटी दशौं स्थानमा रहनुभयो ।
महिला प्रतिस्पर्धातर्फ चितवनकी पूर्णिमा गुरुङ ५.५ अंकसहित उत्कृष्ट महिला खेलाडी घोषित हुनुभयो । खोटाङकी कुसुम घिसिङ दोस्रो तथा काठमाडौंकी पञ्च्या बोलल्चा तेस्रो उत्कृष्ट महिला खेलाडी बन्नुभयो ।
प्रतियोगिताको समापन समारोहमा काठमाडौं महानगरपालिका वडा नं. २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले विजेता खेलाडीहरूलाई नगद पुरस्कार, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो ।
पहिलोदेखि पाँचौं स्थानसम्मका खेलाडीले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। छैटौंदेखि दशौं स्थानसम्मका खेलाडीलाई जनही ६ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतियोगितामा प्रत्येक प्रदेशबाट एक–एक जना उत्कृष्ट खेलाडी छनोट गरी जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
साथै वडा नं. २४ का दुई स्थानीय खेलाडी तथा काठमाडौं महानगरपालिकाभित्रका दुई खेलाडीलाई स्थानीय उत्कृष्ट खेलाडीका रूपमा सम्मान गरिएको थियो ।
धर्मपथस्थित नेवाः सांस्कृतिक द्यः छेँमा आयोजित प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, बेलायत र फ्रान्सका गरी २२६ खेलाडी सहभागी भएका थिए । सहभागीमध्ये २१५ जना नेपालका ४८ जिल्लाका खेलाडी थिए भने ११ जना विदेशी खेलाडी थिए ।
प्रतियोगितामा १५ जना महिला खेलाडी तथा ६४ जना पहिलो पटक प्रतिस्पर्धामा सहभागी भएका अनरेटेड खेलाडीहरूको सहभागिता रहेको थियो ।
विश्व बुद्धिचाल महासंघ, एशियन चेस फेडरेसन र नेपाल चेस फेडरेसनको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नं. २४ ले प्रतियोगिता आयोजना गरेको हो ।
समापन समारोहमा बोल्दै वडाध्यक्ष राजभण्डारीले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता नियमित रूपमा सञ्चालन गर्दै स्थानीय खेलाडीलाई विश्वस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गरिने बताउनुभयो ।
Categorized in वडा