७ मङ्सिर २०८२, आइतबार
Header

नगदरहित भुक्तानीमा राष्ट्र बैंकले तोक्यो सीमा, सरकारी भुक्तानमा छैन सीमा


प्रकाशित: बुधवार, २२ असोज २०८२, १५ः३० बजे
- महानगरखबर

काठमाडौं । भुक्तानी सुरक्षालाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले विभिन्न डिजिटल माध्यममा दैनिक र मासिक सीमा तोकेको छ । 


बैंकले भुक्तानी प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन यस्तो सीमा लागू गरेको हो ।

 
राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, कनेक्ट आइपिएस र क्युआर कोडमार्फत हुने कारोबारमा दैनिक ३ लाख रुपैयाँसम्मको सीमा राखिएको छ । यस्ता कारोबारमा महिनाको सीमा भने तोकिएको छैन ।


त्यस्तै, वेब एप्लिकेसनमार्फत कनेक्ट आइपिएस वा इन्टरनेट बैंकिङ प्रयोग गर्दा दैनिक २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।


बैंक खाताबाट वालेटमा रकम पठाउँदा र वालेटबाट बैंक खातामा रकम स्थानान्तरण गर्दा दैनिक २ लाख र मासिक १० लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । 


एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदा भने दैनिक ५० हजार र महिनाको ५ लाख रुपैयाँसम्म सीमा तोकिएको छ ।


तर, नेपाल सरकारका राजस्व, कर, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रेशन तथा सेवा शुल्क, खानेपानी, बिजुली, टेलिफोन, विद्यालय शुल्क, बीमा प्रिमियम लगायतका भुक्तानीमा कुनै पनि सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।


डेबिट, क्रेडिट वा प्रिपेड कार्डमार्फत गरिने भुक्तानीमा पनि कुनै सीमा तोकिएको छैन । 


साथै, वालेटबाट प्रयोगकर्ताको आफ्नै बैंक खातामा रकम पठाउँदा पनि सीमा लागू नहुने व्यवस्था छ ।


व्यावसायिक प्रयोजनका लागि कर्पोरेट–पे र इन्टरबैंक फन्ड ट्रान्सफरमार्फत हुने विशेष भुक्तानीमा पनि छुट्टै सीमा नराखिएको बैंकले जनाएको छ ।


ठूलो मूल्यका कारोबारका लागि आरटिजिएस प्रणाली प्रयोग गर्न सकिन्छ । यो प्रणाली २ लाख रुपैयाँभन्दा माथिका रकमको कारोबारका लागि मात्र प्रयोग हुन्छ र आइतबारदेखि बिहीबारसम्म बिहान ८ः३० देखि बेलुका ७ः३० सम्म तथा शुक्रबार बिहान ८ः३० देखि दिउँसो २ः४५ सम्म सञ्चालनमा रहने व्यवस्था गरिएको छ ।


राष्ट्र बैंकका अनुसार नगदरहित कारोबारको प्रवद्र्धनले सुरक्षित, पारदर्शी र आधुनिक आर्थिक प्रणाली निर्माणमा मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex