काठमाडौँ । नक्कली प्रेसपास बोकी लागुऔषध कारोबार गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रेस लेखेको मोटरसाइकलमा नक्कली प्रेसपास बोकी लागुऔषध कारोबार गर्ने धनुषाका ३१ वर्षीय राजकुमार चौधरी र लागुऔषध सेवनकर्ता ३२ वर्षीय मोहम्मद शाहीदलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
परिसरका टोलीले काठमाडौँ महानगरपालिका–२२ मा प्रेस लेखेको ज ७ प १४०४ नम्बरको मोटरसाइकलमा लागुऔषध कारोबार गरेको प्रहरीले जनाएको छ ।
चौधरीले बेच्ने र शाहीद किन्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ व्यक्तिसँग प्रहरीले लागुऔषध कोडाइन फोसफेट्स डिप्लेक्स ३५ बोत्तल, स्पासपोक्राम दुई ट्याब्लेट, इन्ट्रानेट २१ ट्याब्लेट, प्रेस लेखिएको मोटरसाइकल, नगद रु २५ हजार, ग्लोबल आइएमई बैंकमा विभिन्न मितिमा जम्मा गरेको रु चार लाख एक हजारका भौचरहरु र दुई थान मोबाइल बरामद गरेको छ ।
परिसरका प्रवक्ता मोहनकुमार थापाले चौधरीले लागुऔषध ल्याउँदा भारतीय सीमा क्षेत्रबाट काठमाडौँ आउने सवारी साधनमार्फत ल्याउने गरेको र लागुऔषध विक्रीवितरण गर्दा कसैले शंका नगरोस् भन्नका लागि प्रेस लेखिएको मोटरसाइकल प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । परिसरले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज