काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि हेल्प लाइन सेवा ल्याएको छ ।
मन्त्रालयले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सो हेल्पलाइन सेवाको शुभारम्भ गरेका छन ।
लत त्याग्न मन्त्रालयमा ११३२ मा कल गरेर निःशुल्क परामर्श सेवा लिन सकिन्छ । स्वास्थ्यमन्त्री पौडेलले हेल्पलाइन सेवा सुर्तीजन्य पदार्थ नियन्त्रणमा सकरात्मक कदम हुने बताए ।
‘सुर्तीजन्य पदार्थ नियन्त्रणमा सहयोग पुग्छ भनेर हेल्पलाइन सेवा ल्याएका हौं । सुर्तीजन्य पदार्थ नियन्त्रण, न्यूनीकरण तथा जनचेतना विस्तार गर्ने सम्बन्धमा केही उपलब्धि हात पारेका छौं । उत्पादन र आयात रोक्न सकिंदैन तर उपभोक्ता घटाउन कसरी सकिन्छ भन्ने विधिमा जोड दिनुपर्छ’, मन्त्री पौडेलले भने ।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले युवाहरु सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग चिन्ताजनक रहेको बताए । ‘पछिल्लो समय भेपको प्रयोग एकदमै बढेको देखिन्छ । युवाहरुलाई यो लत नियन्त्रण गर्न के गर्ने त? हामीले प्रयास गरिरहेका छौं । यो प्रयास स्वास्थ्यमन्त्रायले एक्लैले गर्न सक्दैन । सबैको समन्वय र सहकार्य चाहिन्छ । जनचेतना फैलाउन काम गर्नुपर्छ । व्यक्ति, घर, संगत, विद्यालय, कार्यस्थललगायतको ठाउँमा सुर्तीजन्य पदार्थको सेवन प्रोत्साहित हुने वातावरणलाई नियन्त्रण गर्नुपर्छ’, डा. देवकोटाले भने ।
हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मनाइने गरेको छ । यस वर्षको नारा ‘सूर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौं यो मोहजाल’ रहेको छ ।
Categorized in स्वास्थ्य