काठमाडौँ । सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माणका लागि विस्तृत परियोजना (डिपीआर) तयार भएको छ ।
विहिवार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एक कार्यक्रमविच नागअर्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतलाई उक्त मानवसेवा आश्रमको डिपिआर हस्तान्तरण गरे ।
भवन निर्माणका लागि काठमाडौं महानगरसँग गत असोज २० गते त्रिपक्षीय सम्झौता भएपछि महानगरको सहरी योजना आयोगले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको थियो ।
सम्झौतामा नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक अनुदान दिने, यसबाट नागार्जुन नगरपालिकाले खरिद ऐनको प्रक्रिया अवलम्बन गरेर भवन निर्माण गर्ने र मानव सेवा आश्रमले सेवा सञ्चालन गर्ने गरी सम्झौता भएको थियो ।
प्रतिवेदनअनुसार ९८४ बर्गमिटर प्लिन्थ एरिया भएको भवन १ हजार ९५४ बर्ग मिटर क्षेत्रफलमा निर्माण हुने भवनको लागत करीव ११ करोड रुपैयाँको हुनेछ । सहरी योजना आयोगका सदस्य सजीव शाक्यकाअनुसार भवनमा १ सय जना अट्ने एउटा, ४० जना अट्ने एउटा गरी २ वटा सभा कक्ष र २० जना अट्ने बैठक कक्ष हुनेछन ।
१८० जना सहयोगापेक्षी राख्न सकिने भवनमा २६ जना स्वयमसेवक बस्न सक्नेछन । भवनमा १० वटा कार र ४० वटा मोटरसाइकल अट्ने पार्किङ्ग सुविधा हुनेछ । प्राइभेट, सेमी प्राइभेट र पब्लिक गरी भवनलाई ३ भागमा बाँडेर प्रयोग हुनेछ । शाक्यकाअनुसार, सुरक्षा र गोपनीयताजस्ता विषयलाई ध्यानमा राखेर यस्तो डिजाइन गरिएको हो । सुत्ने कोठा र स्वास्थ्य उपचार कक्ष प्राइभेट अर्थात सबैको पहुँच नहुने गरी बनाइनेछ ।
नागार्जुन नगरपालिका वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी जग्गामा नगरपालिकाकै नाममा आश्रम निर्माण गरिनेछ । भवनको नाम ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ हुनेछ । यहाँ रहने व्यक्तिहरुको लिंग, उमेर समूह, शारीरिक तथा मानसिक अवस्था, आवश्यकता र प्रकृतिजस्ता अवस्थाका आधारमा छुट््याएर अधिकतम मानवीयताको प्रवर्धन गर्ने गरी संरचना निर्माण गरिनेछ ।
उद्देश्यअनुसार भवनको व्यवस्थापन तथा प्रयोग हुन नसकेमा वा भवनको दुरुपयोग भएमा भवन फिर्ता हुनेछ ।
सो अवसरमा पंमुख शाक्यले काठमाडौँमा जन्मिएर देशको स्वाधीनताका लागि प्राण आहुती गर्ने सहिद धर्मभक्त माथेकाका नाममा मानव सेवा आश्रम र प्रजातन्त्र प्राप्तिका लागि नेतृत्व गर्ने गणेशमानका नाममा पार्क निर्माण गर्न नागार्जुन नगरसँग हस्ताक्षर गर्न पाएको खुशी लागेको बताए ।
उनले भने ‘शासन परिवर्तनको लाभ समुदायका तल्लो तहमा पुगोस् भन्ने उहाँहरुको चाहना थियो । उहाँहरुको चाहना पूरा गराउन हामीले वेसहारालाई खाना, नाना र छानासँगै स्वास्थ्य र शिक्षाका लागि लगानी गरेका हौँ । काम समयमा सकिएर लक्षित समूहले लाभ पाउनेमा मैलै विश्वाश गरेको छु ।’
महानगरले २०७४ मंसिर १ गते मानव सेवा आश्रमसँग सडकमा वेसहारा जीवन विताइरहेकाहरुको पालन पोषणमा सहयोग पु¥याउने उद्देश्यले सम्झौता गरेको हो । सहरका सडक किनारामा वेसहारा जीवन विताउने हरेक उमेर समूहका मानिसलाई उद्धार गरेर, आश्रममा लाने, सम्भव भए पारिवारिक पुनर्मिलन गराउने सहमतिबमोजिम काम भइरहेको छ ।
महानगरले वडा नं. २६ सामाखुशीमा आश्रम सञ्चालन भएको एउटा र बुढानिलकण्ठ नगरपालिका वडा नं. १ नीलो पुलमा सञ्चालित एउटा गरी २ वटा घरको मासिक बहाल तिर्दै आएको छ ।
उद्धार कार्यमा प्रयोग गर्न एउटा सवारी खरिद गरिदिएको छ ।
तस्वीरः चन्द्रमणी भट्टराई
Categorized in स्थानिय