१० भाद्र २०८३, बुधबार
Header

धरौटीमा छाड्न आदेश पाएका ललिता निवास जग्गा प्रकरणमा कसलाई कति धरौटी माग ?


प्रकाशित: आइतवार, २४ भाद्र २०८०, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेका १७ जना सबैलाई धरौटीमा छाड्न आदेश दिएको छ । 


आइतबार अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलाशले उनीहरुलाई छाड्न आदेश दिएको हो । दुबै पक्षको थुनछेक बहस सकिएपछि अदालतले पुर्पक्षका लागि आदेश दिएको हो ।

 
इजालशले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजा र समरजंग कम्पनी तत्कालीन सहायक लेखापाल विनोदप्रसाद पौडेलसँग जनही १५ लाख धरौटी माग गरेका छन । 


त्यसैगरी, भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रकुमार श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन सिनियर डिभिजनका इन्जिनियर बालकृष्ण श्रेष्ठ, नापी कार्यालय डिल्लीबजार काठमाडौंका तत्कालीन सर्भेक्षक घमनकुमार कार्कीसँग जनही ७ लाख ५० हजार धरौटी माग गरिएको हो । 


इजालसले जनही ७ लाख ५० हजार धरौटी माग गरिएकोहरुमा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंका तत्कालीन खरिदार गोपाल कार्की, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु योगराज पौडेल, समरजंग कम्पनीको तत्कालीन प्रमुख लोकहरी घिमिरे, खरिदार नारायणराज मिश्र र नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ रहेका छन । 


भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग इजलासले दुई करोड ४६ लाख धरौटी माग गरेको छ । 


काठमाडौं महानगरपालिका–४ नम्बर वडा कार्यालयका तत्कालीन वडा सचिव शिवजी भट्टराई र नापी अधिकृत ध्रुवप्रसाद अर्यालसँग प्रतिव्यक्ति जनही ३ लाख ३० हजार धरौटी माग गरिएको छ । 


बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र संजयकुमार महर्जनसँग जनही एक लाख १० हजार धरौटी माग गरेको हो । यस्तै केशव तुलाधरलाई साधारण तारेखमा छाडिएको छ । 


यस अघि यी अरोपीहरुलाई सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा गएको भन्दै भदौ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

 
यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २८९ जनालाई प्रतिवादी बनाएको थियो । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex