१७ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

धरहरा क्षेत्रमा पार्किङ सञ्चालन र व्यवस्थापन महानगरले गर्ने


प्रकाशित: शुक्रवार, ८ फागुन २०८२, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । धरहरा क्षेत्रमा निर्माण गरिएको सवारी साधन पार्किङको सञ्चालन तथा व्यवस्थापन अब काठमाडौं महानगरपालिका ले गर्ने भएको छ । 


शुक्रबार धरहरा क्षेत्रमा बसेको नेपाल सरकार र महानगरबीचको छलफलले पार्किङ व्यवस्थापनको जिम्मा महानगरलाई दिने सहमति गरेको हो ।


नयाँ सहमतिअनुसार धरहराभित्र रहेको पार्किङको सञ्चालन र व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ । पार्किङ क्षेत्रको सुरक्षासहितका अन्य आवश्यक प्रबन्ध पनि नगरप्रहरीमार्फत नै अघि बढाइने जनाइएको छ ।


बैठकले धरहरा क्षेत्रको समग्र सञ्चालनका लागि तत्कालीन तथा दीर्घकालीन योजना तयार गर्न अध्ययन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

 
समितिले परियोजना सञ्चालन, प्रारूप तथा व्यवस्थापन मोडालिटीबारे अध्ययन–विश्लेषण गरी सुझावसहितको प्रतिवेदन पेश गर्नेछ । 


यसका लागि सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले तोकेका पदाधिकारीहरूको संयुक्त समिति गठन गरिनेछ ।


काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले धरहराको बाहिरी संरचनासम्बन्धी आवश्यक काम महानगरले गर्ने जानकारी दिइन ।


उनले धरहराको समग्र सञ्चालन व्यवस्थापन पूर्ण रूपमा महानगरलाई हस्तान्तरण गर्न संघीय सरकारसँग आग्रहसमेत गरेको बताइन ।


सुन्धारास्थित धरहराको बाहिरी स्वरूपको व्यवस्थापन महानगरले गर्ने सहमति भएको बताए । बाहिरी संरचनाको आर्थिक दायित्व महानगरले व्यहोर्नेछ भने पार्किङ र सुरक्षासम्बन्धी काम तत्काल अघि बढाइने छलफल भएको थियो । 


छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 
समिति गठनपछि धरहराको पूर्ण व्यवस्थापन हस्तान्तरणका लागि आवश्यक मोडालिटी तयार पारिने बताइएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex