नृत्य निर्देशक संघ नेपालको दोश्रो वार्षिकोत्सवको साथमा दोश्रो राष्ट्रिय नृत्य महोत्सव आज काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । विभिन्न सांस्कृतिक नृत्यहरको साथै सम्मान कार्यक्रम गर्दै राष्ट्रिय नृत्य महोत्सव मनाइएको हो ।
संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री रविन्द्र अधिकारीले महोत्सवको उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्ने क्रममा मन्त्री अधिकारीले २०७६ सालबाट हरेक वर्ष श्रावण २६को दिनलाई राष्ट्रिय नृत्य दिवस मनाउने घोषणा गर्नुभयो । यो दिवस अन्य दिवस जस्तै विदा मनाउनका लागी नभई उत्सव मनाउनका लागी हुने मन्त्री अधिकारीको भनाई थियो ।
नृत्य निर्देशक संघ नेपालका का.वा. अध्यक्ष संजय शर्मा राजोपाध्यायले कलाकारलाई गहनाको नाम दिएर आवश्यक परे प्रयोग गर्ने आवश्यक नभए बेवास्ता गर्ने खालको व्यवहार बन्द गरिनुपर्ने बताउनुभयो । कला र कलाकारिता क्षेत्रलाई राज्यको पाँचौ अंगको रुपमा परिभाषित गरिनुपर्ने माग राजोपाध्यायले गर्नुभयो ।
संघका केन्द्रीय उपाध्यक्ष साथै महोत्सव संयोजक प्रदिप श्रेष्ठले स्वागत मन्तव्यको क्रममा संघमा विगतमा भएका कार्यक्रम एवम् गतिविधिको बारे जानकारी दिनुका साथै भावी योजनाहरु सार्वजनिक गर्नुभयो ।
सोही कार्यक्रममा भारतको प्रख्यात रियालिटि शो डान्स प्लस २ मा सहभागी भई प्रशंसा कमाएको वाइल्ड रिपर्ज क्रुलाई सम्मान गरिएको थियो । सम्मान ग्रहण गरिसकेर वाइल्ड रिपर्ज क्रुले आगामी दिनमा डान्स ओलम्पिकमा भाग लिएर नेपालका लागी स्वर्ण पदक जित्ने उद्घोष गर्यो ।
कार्यक्रममा नृत्य निर्देशक संघका बिभिन्न शाखाहरुको साथै विभिन्न विद्यालयका विद्यार्थीहरुबाट पनि आकर्षक र रमाईला नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा बनेपाको ऐतिहासिक राजारानी नाच, काभ्रेको चामुण्डा खैजेडी भजन समूहबाट भजनसँगै नृत्य, संघ ललितपुर शाखाबाट धिमे नाच, चितवन, काभ्रे, भक्तपुर लगायतका विभिन्न ठाउँका साथै विभिन्न विद्यालयका विद्यार्थीहरुबाट पनि नाच प्रस्तुत गरिएको थियो ।
सांस्कृतिक कार्यक्रममा भन्दा अगाडि दोश्रो राष्ट्रिय नृत्य महोत्सवको अवसरमा ¥याली निकालिएको थियो । नृत्य निर्देशक संघ नेपालका विभिन्न शाखाको साथै नृत्य सम्वद्ध विभिन्न संस्थाहरु र नृत्यप्रेमीहरुको सहभागीता थियो । विभिन्न बाजागाजा र झाँकीको साथमा निकालिएको ¥याली भृकुटिमण्डपबाट शुरु भई भद्रकाली, सुन्धारा, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै फेरी भृकुटिमण्डपमै पुगेर सम्पन्न भएको थियो । सो ¥यालीको उद्घाटन भने साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा रिबन काटेर गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय