काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभरका ७५ कारागार मा कुल २८ हजार ७१८ जना रहेको जानकारी दिएका छन
जसमा १० हजार ४३५ जना थुनुवा र १८ हजार २८३ जना कैदी छन ।
असार मसान्तसम्मका तथ्यांकअनुसार देशभरका पुरुष ब्लकमा १६ हजार ६२५ जनाको क्षमता भए पनि २७ हजार १६८ पुरुष बन्दी राखिएका छन, जुन क्षमताभन्दा औसतमा ६७ प्रतिशत बढी हो ।
५० महिला ब्लकमा २ हजार ५०१ जनाको क्षमता छ भने १ हजार ५५० महिला मात्र छन । महिला बन्दी भने क्षमताभित्र नै रहेका छन ।
तथ्यांकअनुसार, हाल कारागारमा ६५ वर्षभन्दा माथिका ६६ ज्येष्ठ नागरिक, ६४ आश्रित बालबालिका र १ हजार ४२७ विदेशी नागरिक छन ।
गृहमन्त्री रमेश लेखकले मंगलवार कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा यस तथ्यांक प्रस्तुत गरेका हुन ।
लेखकका अनुसार नेपालका ७२ जिल्लामा ७५ कारागार सञ्चालनमा छन ।
भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन भने काठमाडौं, दाङ र बाँकेमा दुई–दुईवटा कारागार छन ।
कैलाली कारागार घटना र आगामी कदम
गत शुक्रबार राति कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो र करिब ४० घण्टासम्म कारागार कैदीबन्दीको नियन्त्रणमा थियो ।
गृहमन्त्री लेखकका अनुसार अहिले स्थिति सामान्य छ र प्रहरी प्रशासनको सहज पहुँच रहेको छ ।
“कारागार प्रशासनका लागि नयाँ कर्मचारी खटाइएको छ र बन्दीलाई आफन्तसँग भेटघाट गर्ने वातावरण मिलाइएको छ,” उनले समितिमा जानकारी दिए ।
लेखकले कैलाली घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि आवश्यक कानुनी कारबाही र व्यवस्थापकीय सुधार गरिने पनि बताए ।
Categorized in राष्ट्रिय