काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दीर्घ रोगका औषधी सेवन गर्ने जेष्ठ नागरिकको लागत संकलन गरिरहेको महानगरले जनाएको छ ।
महानगरको स्वास्थ्य विभागले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका औषधि सम्बन्धी लगत संकलन गरिरहेको हो ।
औषधिको उपलब्धता सरल, सहज र पहुँच योग्य बनाउने उद्देश्यसहित पुस २२ गतेदेखि परिपत्र गरेर लगत संकलन गरिरहेको विभागले जनाएको छ ।
विभागका प्रमुख दिपक के. सी.का अनुसा विभागले महानगरपालिकाकै पञ्जिकरण शाखाबाट २०८१ साउन १ गतेसम्म अद्यावधिक गरेका ७० वर्ष उमेर पूरा भएका २३ हजार ७७० जना ज्येष्ठ नागरिकको विवरण प्राप्त गरेको छ ।
मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोवाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ । अहिलेसम्म १ हजार ४९६ जनाको विवरण प्राप्त भइसकेको छ । ती मध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन ।
विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको संख्या ३७ हजार ६५४ जना छ । ७० वर्ष उमेर पूरा भएकाको संख्या २३ हजार ७७० जना छ ।
धेरै उमेर हुनेमा ११० वर्ष उमेरको व्यक्ति हुनुहुन्छ । १ सय वर्ष उमेर पूरा हुनुभएका ज्येष्ठ नागरिकको संख्या ४७ जना रहेको छ ।
९० वर्षदेखि ९९ वर्षसम्मका ८६४ जना, ८० वर्षदेखि ८९ वर्षसम्मका ५ हजार ४८३ जना र ७० वर्षदेखि ७९ वर्षसम्मका १७ हजार ३७४ जना ज्येष्ठ नागरिक रहेका छन ।
20 January 2025, Monday
Categorized in पालिका