काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावली पवर्बका अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद, बिक्री, ढुवानी, भण्डारण र प्रयोग नगर्न र नगराउन अनुरोध गरेको हो ।
देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू मर्यादित, अनुशासित र व्यवस्थित ढंगले राति ९ बजेसम्म मात्र गर्न र कुनै गुनासो नआउने गरी सञ्चालन गर्न निर्देशन दिइएको छ ।
सार्वजनिक सडक, पदमार्ग वा आवागमन हुने स्थानमा अवरोध हुने गरी देउसी–भैलो खेल्न वा दीपावली उत्सव थल बनाउन निषेध गरिएको छ ।
यसैगरी, चाडपर्वको समयमा चोरीका घटना बढ्ने सम्भावना रहने भन्दै प्रशासनले घर खाली नहुने व्यवस्था मिलाउन, छिमेकीलाई जानकारी गराउन र शंकास्पद व्यक्तिलाई देखेमा नजिकको प्रहरी वा सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ ।
कार्यालयले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्री गर्ने जस्ता उपभोक्ता हित विपरीतका गतिविधि नगर्न पनि सचेत गराएको छ । साथै, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएको भन्दा बढी भाडा नलिन र ट्राफिक नियम पालना गर्न निर्देशन दिएको छ ।
साथै, अनलाइन सपिङ, जुवातास र चिठ्ठाका नाममा हुने गैरकानूनी कारोबार तथा विद्युतीय ठगीबाट सचेत रहन पनि प्रशासनले सबैलाई आग्रह गरेको छ ।
Categorized in स्थानिय