गायक दिपक बज्राचार्यको गीत ‘मनमगन’ को नेपालभाषा संस्करण पनि सार्वजनिक गरिएको छ । आज ललितपुरमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा गायक बज्राचार्य मनमगन अब विभिन्न भाषामा पनि बन्ने र यसको शुरुवात आफ्नो मातृभाषा नेपालभाषाबाट गरेको बताउनुभयो ।
मौलिक नेपाली संगीतमा सारा संसारलाई नचाउने उद्देश्य अनुसार गीतलाई विभिन्न भाषामा बनाउने लागिएको गायक बज्राचार्यले बताउनुभयो । नेपाली मौलिक बाजा र संगीतको संरक्षण र प्रचारको लागी मनमगनलाई देशका साथै विदेशी विभिन्न भाषामा पनि बनाउन लागिएको बज्राचार्यको भनाई थियो ।
पछिल्लो समयमा दिपक बज्राचार्यले मौलिक नेपाली बाजाहरुको प्रयोगको साथै नेपाली संस्कृति समेतको झल्को दिइ गीतहरु बनाइरहेका छन् । आफ्नै मातृभाषामा बनेका श्रृजनाले सम्बन्धित भाषिक समुदायभित्र सहज रुपमा स्थान बनाउन सक्ने भएकोले यसलाई विभिन्न भाषाबाट बनाउँदै नेपाली मौलिक बाजाहरुलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने आफ्नो उद्देश्य रहेको बज्राचार्यले बताउनुभयो ।
विगत ८ वर्षदेखि क्रिम अफ रिदम नाम दिइ गायक बज्राचार्यले मौलिक नेपाली बाजाहरुको समिश्रण गरी नेपाली पप गीतहरु गाइरहेका छन् । यसभन्दा अगाडि पनि बज्राचार्यले आफ्नै लोकप्रिय गीतहरु काली काली, ओ अमिरा, मायाको डोरीले आदिमा पनि नेपाली बाजाहरु समिश्रण गरी ‘मेडली’ गाइसकेका छन् भने यहि मेडलीलाई उनले अंग्रेजीमा समेत गाउनुभएको थियो ।
दिपक बज्राचार्यको लोकप्रिय गीत मनमगनको नेपालभाषा संस्करण पछि चाँडै नै यसको हिन्दि संस्करण पनि सार्वजनिक हुने भएको छ । आज सम्पन्न अन्तक्र्रिया कार्यक्रममा ‘मनमगन’ को हिन्दी संस्करण पनि तयार भइसकेको जानकारी गराउनुभयो ।
गायक बज्राचार्यको भनाई अनुसार मनमगनको हिन्दी संस्करणको प्रवद्र्धन भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले गर्न लागेको छ । मनमगन हिन्दि संस्करणको प्रवद्र्धनका लागी डिजिट्यूनले १ करोडको बजेट छुट्याइसकेको बज्राचार्यको भनाई थियो ।
मनमगनको हालको भिडियोमै हिन्दी संस्करणको गीत पनि सार्वजनिक गरीने जानकारी बज्राचार्यले दिनुभयो । ‘अब मनमगनको म्यूजिक भिडियोसँगै भारतको च्यानलहरुमा पनि नेपालको धिमेय्, सारंगी, भुस्याः जस्ता हाम्रै मौलिक बाजाहरुको साथै लाखे, पुलुकिसि, कुमारी जस्ता विशुद्ध नेपाली संस्कृति देखिनेभयो र हाम्रो बाजाको बोल पनि घन्किनेभयो’ बज्राचार्यले गर्वसाथ बताउनुभयो ।
गायक बज्राचार्यको भनाई अनुसार उनले डिजिट्यून कम्पनीसँग पाँच वर्षको लागी सम्झौता समेत गरीसकेका छन् । अब उनले डिजिट्यूनका लागी अन्य हिन्दी गीतहरु पनि गाउनेछन् । डिजिट्यूनले पहिले त, दिपकको मनमगन गीतको हिन्दी संस्करणलाई भारतमा प्रवद्र्धन गर्नेछ भने पछि उनलाई अन्य हिन्दी गीतहरु पनि गाउन लगाइनेछ ।
गायक दिपक बज्राचार्य भारतको डिजिट्यून कम्पनीसँग अनुबन्धित भएसँगै उनले हिन्दी फिल्ममा समेत गाउन सक्ने सम्भावना बढेको छ ।
Categorized in समाज