काठमाडौं । हिन्दुहरुको महान चाँड बिजया दशमीको शुभ साईत कार्तिक २ गते शुक्रवार विहिान ९ बजेर ५१ मिनेट भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ ।
समितिका अनुसार असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने र झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सञ्चार माध्यमलाई जानकारी दिएको छ ।
त्यसैगरी असोज २८ गते आइतबार पचली भैरव यात्रा, असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याईने, त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलेजु भवानीको यात्रा गराइन्छ भने १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।
असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात दशैँको टीका परेको छ । विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताउनुभयो ।
विजयादशमीकै दिन बिहान ८ः३५ मा तुलेजु भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ ।
कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान चाड बडादशैँ समापन हुनेछ ।
Categorized in समाज