४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

दशअवतार निरन्तर होला कि नहोला त ?


प्रकाशित: २०७५ असोज ८
- करुण

अन्ततः ईन्द्रजात्राको तेश्रो दिनमा आएर दशअवतार बन्द भएको छ । तेश्रो दिनसम्म पनि सम्बन्धित पक्षबाट आवश्यक बजेट उपलब्ध नहुँदा आफुहरुले प्रदर्शन रोक्न वाध्य भएको दशअवतार कलाकारहरुको भनाई छ ।
 

दुइ दिन आफैंले खर्च गरी दशअवतार प्रदर्शन गरेको र आज दशअवतारको निरन्तरताका लागी रकम नै नहुँदा वाध्यताले बन्द गर्नुपरेको दशअवतार कलाकार नवीन शाहीले बताउनुभयो । ‘सहमति अनुसार कार्यान्वयन पनि होला भन्ने आशाले दुइ दिन त हामीले आफैंले खर्च गरेर प्रदर्शनीलाई निरन्तरता दियौं’ शाहीले थपे ‘आज बजेट उपलब्ध नहुँदा खर्च गर्न रकमको अभावले वाध्यताले दशअवतार प्रदर्शनलाई बन्द गर्नुपर्यो’ शाहिको भनाई थियो ।
 

उचित व्यवस्थापन र आवश्यक बजेट उपलब्ध नभएको अवस्थामा यसपालि दशअवतार प्रदर्शन निरन्तर हुने अवस्था नरहेको दशअवतारका कलाकारहरुले बताउँदै आएका थिए । यसैबीच गएको विहिबार दशअवतार गुठि र कलाकारहरुबीच आवश्यक व्यवस्थापन गर्ने सहमति भएपछि प्रदर्शनी निरन्तर भएको थियो ।
 

‘हालको समस्या भनेको आर्थिक होइन, यो ठुलो विषय होइन । मुख्य समस्या उचित व्यवस्थापन हो’ दशअवतारका कलाकार राजेन्द्र श्रेष्ठले बताउनुभयो ‘दशअवतार प्रदर्शनीलाई व्यक्तिगत नभई संस्थागत बनाइनुपर्यो । संस्थागत भएमा विद्यमान समस्या समाधानमा संस्था आफै जुट्छ ।’
 

सोमबार ईन्द्रजात्राको मुख्य दिन हो । सोमबारबाट कुमारीको साथमा भैरव र गणेशको रथयात्रा पनि शुरु हुनेछ । रथयात्राको पहिलो दिन राष्ट्रप्रमुखले पनि जात्रा अवलोकनको साथै कुमारी दर्शन गर्ने परम्परा छ । सो अवसरमा दशअवतार पनि राष्ट्रप्रमुखको अगाडी प्रदर्शन गर्ने गरिन्छ ।
 

ईन्द्रजात्राको मुख्य दिनमा दशअवतार प्रदर्शनको विषयमा अहिलेको अवस्थामा यकिनसाथ भन्न नसकिने  कलाकार राजेन्द्र श्रेष्ठ बताउनुहुन्छ । ‘दशअवतार प्रदर्शनीमा कलाकार र प्राविधिक सबै गरेर करीब ५० जना मान्छेहरु खट्नुपर्छ । खाजा खर्च नै दैनिक ५ हजार भन्दा बढि छ‘ कलाकार श्रेष्ठले जोडे ‘कलाकारहरुको पारिश्रमिक, यातायात आदि इत्यादि खर्चहरु छन् । दुइ दिन त जसोतसो निरन्तर गर्यौं । अब त हामीले आफैंले खर्च गरेर सम्भव नै छैन ।’
 

विगत १५ सय वर्ष अगाडिबाट ईन्द्रजात्रामा दशअवतार प्रदर्शन गरिँदै आएको दावी दशअवतार प्रदर्शन तथा प्रवद्र्धन समाजको दावी छ । संयोजन, व्यवस्थापन र बजेटको अभावमा हाल आएर ऐतिहासिक दशअवतार प्रदर्शनीको अस्तित्व संकटमा परेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex