७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

दर्शक रमाए स्वयम्भूराज शाक्यको प्रस्तुतिबाट


प्रकाशित: सोमबार, २७ जेठ २०७६, २१ः०० बजे
- सुरजवीर बज्राचार्य

वरिष्ठ गायक स्वयम्भूराज शाक्यको एकल सांगीतिक प्रस्तुति “जुजु वेयर्स ओ प्रिय लिफः स्वयाः” सम्पन्न भएको छ । 


रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायक, गायिका र अर्को कोठामा प्रविधि र प्राविधिक बसेर रेकर्ड गरिएको गीत “ओ प्रिय लिफः स्वयाः” निकै लोकप्रिय गीत हो । गायक शाक्यले सपनाश्रीका साथमा ३ दशक अघि गाएको यही गीतबाट यस कार्यक्रमको नामाकरण गरिएको हो ।


दर्शकको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम ३ दशकको अवधिमा सृजना भएका १४ वटा लोकप्रिय गीतहरु प्रस्तुत भए । नेपालभाषाका रतन, जिके नं भतिचा माया, छं मुसुं न्हिला स्वःसा, अय् मयजु थन छकः स्व, मुसुक्क न्हिला हुँ, भिंंद्यः गुथियागु मूसःगु अय्ला, ओ प्रिय लिफः स्वयाः, घण्टाघरया क्वय्, वया ला छ थन माया मदुम्ह, जात्राया हुलय्, मिलेजूम्ह पासाया इहिपाया भ्वय् गीत सुनाएका थिए भने रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि रेकर्ड भएको पहिलो गीत “तिमीलाई मैले चिनेर पनि” तथा सुगम संगीतको स्वर्ण युगको स्मरण एवं समर्पण गर्दै प्रेमध्वज प्रधान र उषा मंगेशकरले गाएको किरण खरेलको शब्द र जयदेवको संगीत रहेको माइतीघर चलचित्रको “नमान लाज”, नारायण गोपालको जीवनय् गुबलें छकःसां गीत पनि गायक शाक्यले सुनाएका थिए ।

 

कार्यक्रममा गायक शाक्यलाई गायिका संगीता शाक्य, नीशा देसार र गायक सुमन कपाली र चन्द्रमान शाक्यले साथ दिए भने वाद्यवादनमा भूपेन्द्र बज्राचार्यको संयोजनमा अनुप दास, ज्योति घिमिरे,  रविन कार्कीढली, लक्ष्मी डंगोल, गौतम श्रेष्ठ, तेज श्रेष्ठ,, सम्पूर्ण लामा, इन्द्रमान सिँहको साथ रहेको थियो ।


सांगीतिक प्रस्तुतिमा दुर्गालाल श्रेष्ठ, किरण खरेल, वंशीधर बज्राचार्य, शक्तिमोहन पराजित, शाक्य सुरेन, चन्द्रमान शाक्य, तीर्थ माली, शान्त शाक्य, किर्ति श्यामसुन्दर जोशी, निर्मलरत्न शाक्य, नील शाक्य, राजेशमान सिंह, अमर चित्रकारद्वारा रचित तथा गायक शाक्यका साथै विजयसिँह मुनाल, तीर्थ माली, श्यामसुन्दर जोशी, चन्द्रमान शाक्य, विरेन शाक्य, इन्द्र ब्यञ्जनकार, सुमन कपाली, राजेशमान सिंहले संगीत भरेका गीतहरु गुञ्जिए ।


दर्शकका लागि प्रवेश निःशुल्क आयोजना गरिएको यस कार्यक्रमको मुख्य प्रायोजक जुजु वेयर्स, सह–प्रायोजक सम्झना लेब्ररेटोरी क्लिनिक प्रा.लि., हौगल, ललितपुर र होटल सारा श्री प्रा.लि, लुम्बिनी रहेको छ भने २४ क्यरेट ज्वेलरी, मानभवन, जावलाखेल, ललितपुर तथा यल वेयर्सको पनि साथ रहेको छ । कार्यक्रम संचारकर्मी सुरजवीर बज्राचार्यले संचालन गरेका थिए ।


मंगल इन्टरटेनमेन्ट (लिटिल स्टार रेकर्डस्) को आयोजनामा गायक शाक्यको जन्म टोल ललितपुरस्थित हःखामा भएको कार्यक्रम मदन थापाको मयूर नृत्यबाट शुरु भएको थियो भने गायक ज्योति घिमिरे, गायिकाहरु अनु शाक्य र प्रियंका शाक्यले पनि गीत सुनाएका थिए । 


रेडियो नेपालका विशिष्ट श्रेणीका गायक शाक्य विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुहुन्छ । तिब्बत, श्रीलंका, बंगलादेश, साउदी अरेबिया, जापान, हङकङ, बैंङ्ककमा सांगीतिक प्रस्तुति दिइसक्नु भएका गायक शाक्यको हालसम्म सार्वजनिक भएका ५ गीति संग्रहसहित ३०० हाराहारीमा गीत छन् ।


गायक शाक्यको यो चौंथो एकल सांगीतिक प्रस्तुति हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex