१४ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना


प्रकाशित: विहिवार, ५ चैत्र २०८२, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणले मौसममा आएको बदलीसँगै देशका विभिन्न भागमा भोलिदेखि तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।


प्राधिकरणले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा प्रतिकूल मौसम रहने अनुमान गरिएको छ । 


विशेषगरी शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।


त्यसैगरी, शुक्रबारदेखि नै दाङ र नेपालगञ्ज आसपासका लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ । 


शनिबार भने पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा पनि झण्डै ११९ किलोमिटर प्रतिघण्टासम्मको वेगमा हावाहुरी चल्न सक्ने प्राधिकरणले जनाएको छ ।


प्रि–मनसुनको समय भएकाले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम बढ्ने चेतावनी दिइएको छ । 


पछिल्ला दिनमा यस्तै घटनाबाट जनधनको क्षति भएको उल्लेख गर्दै प्राधिकरणले उच्च जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्राधिकरणले अनावश्यक यात्रा नगर्न, हावाहुरीका बेला घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न, आगोका स्रोतहरू सुरक्षित राख्न र सवारी चलाइरहेका बेला सुरक्षित स्थानमा रोकिन सुझाव दिएको छ । 


साथै, भीडभाडमा आत्तिनु नहुने, व्यवस्थित रूपमा सुरक्षित स्थानतर्फ सर्नुपर्ने पनि जनाएको छ ।


हावाहुरीका समयमा कमजोर संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा र तारमुनि नबस्न, लत्रिएको बिजुलीको तार नछुन र विद्युतीय उपकरण प्रयोग नगर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।


विज्ञप्तीः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex