काठमाडौं । चैत्र १५ गते भएको राजवादी प्रदर्शनको क्रममा भएको हिंसात्मक घट्नामा पक्राउ पर्नेको संख्या ७३ पुुगेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार घटनामा संलग्नको आशंकामा अहिले सम्म उक्त संख्यामा पक्राउ गरेको हो ।
प्रहरीले सामाजिक सञ्जालमा देखिएका भिडिओ, फोटो, सिसिटिभी फुटेज लगायतका आधारमा पक्राउ गर्दै आएको छ ।
७३ जनाविरूद्ध भने प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको हो ।
एसपी बोहराका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेको छ ।
गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, विष्णु पराजुली, धर्मगुरू बताउने पुस्कर खतिवडा, मुनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला र प्रेम थापा मगरमाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेको हो ।
त्यसैगरी, बाँकी ५३ जनालाई आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको हो।
चैत १५ गते भएको प्रदर्शनमा पत्रकार सुरेश रजक र कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको थियो ।
उक्त घट्नमा प्रहरीको गोली लागेर २० घाइते भएका थिए ।
Categorized in राष्ट्रिय