काठमाडौं । थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घट्नाको नष्पक्ष छानबिन हुने दाबी गरेका छन् ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछिको हिंसात्मक घट्नाको विषयमा शनिवार विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले सबै विषयमा न्यायिक छानबिनकै आवश्यकता नहुने बताउँदै निष्पक्ष छानबिन सरकारले गर्ने जिकिर गरे ।
‘न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर, छानबिन निष्पक्ष हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सबै कुरामा न्यायिक छानबिन नै हुनुपर्छ भन्ने छैन । त्यो हामी विचार गर्छौं । निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्ने भनेर ।’
सो घटनामा सयभन्दा बढी सुरक्षाकर्मी र ५४ प्रदर्शनकारी घाइते भएका थिए । गृह मन्त्रालयले १८ घरमा तोडफोड र आगजनी भएको भनेको छ ।
तोडफोड र आगजनीबाट ३९ वटा सवारी साधनमा क्षति पुगेको बताइएको छ । प्रहरीको रिपोर्ट अनुसार सो दिन २० राउन्ड गोली चलाइएको थियो ।
प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये ७८ जनालाई प्रहरीले मुद्दा चलाएको छ ।
5 April 2025, Saturday
Categorized in राष्ट्रिय