८ बैशाख २०८१, शनिबार
Header

तिहार अगाडि नै रानीपोखरी पुनर्निर्माणः तुलाधर 


प्रकाशित: शनिवार, ४ साउन २०७६, १०ः०० बजे
- महानगरखवर

रानीपोखरी पुनर्निर्माण समितिका सचिव रोशन तुलाधरसँग महानगरखबर डट कमका लागि विगेन तुलाधरले लिनुभएको अन्तर्वार्ता


काठमाडौंको मुटुमै अवस्थित रानीपोखरी दुरावस्थामा रहेको हामीले देख्दै आइरहेका छौँ । यसलाई पुनर्निर्माण गर्ने विषयमा धेरै नै विवाद भइसकेपछि अहिले आएर यस रानीपोखरीलाई राम्ररी बनाउनुपर्छ भन्ने उद्देश्य लिएर पुनर्निर्माण उपभोक्ता समिति गठन गरियो । यस समितिमा तपाई सचिव हुनुहुन्छ । अब रानीपोखरी कहिलेसम्म बन्छ त ? 


२०७२ सालको भूकम्पले देशमा ठूलै तहसनहस पा¥यो । यसमा पनि राजधानीको मुटुमै रानीपोखरीमा पनि क्षति पुग्यो । यो साढे तीन सय वर्ष भन्दा पुरानो हो । यसलाई बनाउनका लागि विभिन्न निकायबाट प्रयासहरु भइरहेका थिए, यसमा पर्यवेक्षकहरु भनूँ वा जनताले यो पुरातात्विक शैलीले नै निर्माण गरिनुपर्छ भन्ने आवाज उठ्यो । यो आवाजको जोडले नै पहिलेको पुनर्निर्माण कार्य रोकिन पुग्यो । त्यो रोकिए पछि काठमाडौँ महानगरपालिकाले नै पहल गरेर आफूले नभई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट निर्माण कार्य गराउने र निर्माण सकिए पछि आफूले हस्तान्तरण गरी लिने प्रस्ताव अघि सा¥यो । यस अन्तर्गत हामी स्थानीय वासिन्दा ५ जनालाई मेयरज्यूले छानी उपभोक्ता समिति बनाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सिफारिस गर्नुभयो । यो सिफारिसलाई प्राधिकरणले स्वीकार गरे पछि सम्झौता गरेर हामीलाई जिम्मेवारी सुम्पेको हो । यो जुन जिम्मेवारी हामीले लिएको हो त्यसमा हामीले तिहार अगाडि नै पुनर्निर्माण कार्य सक्ने भनेर कबुल गरेका छौँ । 


त्यसो भए हामीले तिहार अगाडि नै रानीपोखरी हेर्न पाउने भयौँ, हैन त ? 


पोखरी मात्र हो । रानीपोखरी भन्नाले बालगोपालेश्वर मन्दिर सहित भन्ने हुन्छ । मन्दिर, त्यहाँसम्म  जाने पुल र वरिपरिका बगैँचा समेत हो । तर हामीले चाहिँ पोखरीको मात्र जिम्मेवारी पाएका छौँ । रानीपोखरी पानी भरिन सकिने गरी बनाइदिने मात्र हाम्रो काम हो । 


रानीपोखरी चाहिँ तपाईंहरुले बनाउने अनि बगैँचा र मन्दिरको जिम्मा चाहिँ अरुले नै पाउने, अरुले नै त्यहाँ सिँगार्ने भन्ने कुरा त अचम्मको भएन र ? यो कसरी भयो ?   


यसमा हामीले केही भन्नु छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै एक विज्ञ समूह बनाई यसलाई यस प्रकारले बनाउने भन्ने मोड्यालिटी बनाएको हो । किनभने, तपाईंलाई सम्झना होला पहिले एक पक्षले बनाउन लाग्दा यो व्यावसायिक हिसाबमा बनाउन लाग्यो, पोखरी नै व्यावसायिक बनाउन लाग्यो भनेर विरोध उठ्यो । यही कुरालाई हेरेर पनि हुनसक्छ वा शायद छिट्टै नै पुनर्निर्माण कार्य सक्याउने हिसाबमा पनि हुनसक्छ, उहाँहरूले पोखरी उपभोक्ता समितिलाई बनाउन दिने, मन्दिर चाहिँ टेन्डरमा गई निर्माण व्यवसायीलाई बनाउन दिने र अन्तमा मात्र सौन्दर्यीकरणको कार्य गर्ने भनेर निर्णय गर्नुभयो । 


पहिले हामीले सुनेर आए अनुसार त रानीपोखरी त दश वटा बाँस जतिकै गहिरो छ भनिन्थ्यो । अहिले हेर्दा त दश फीट पनि छैन । रानीपोखरीको वास्तविक स्वरूप के हो ? 


हामीले फागुन २० गतेदेखि काम थालेका हौँ । पहिले त घाँस नै सफा ग¥यौँ । भक्तपुरको भाजुपोखरी निर्माण कार्यमा संलग्न टोली नै सहयोगको लागि आए । पहिले घाँस सफा गर्ने कार्यबाट नै काम सुरु भयो । उहाँहरुले वरिपरिको पर्खालका साथ जमिनमा सफा गरी हेर्दा सबै कुरा स्पष्ट भयो । रानीपोखरीमा तीन तह रहेछ । ती तीन तह भरिए पछि पानी दक्षिणपट्टि रहेको उत्तर तर्फ फर्किको ढुङ्गे हात्तीको सूँढसम्म पानी भरिने रहेछ, पहिले पहिले । तर पछि गएर हामीले हाम्रो पालामा हेर्न सकिने भनेको सबभन्दा तल्लो तहको साढे ५ फिट र त्यो भन्दा माथिको तहको ४ फिट ३ इञ्चको तह छ, त्यो पनि पूरै भरिएको हुँदैनथ्यो । त्यो हिसाब गर्दा त्यहाँ ९ फिट चानचुन मात्र पानी भरिएको रहेछ । 


रानीपोखरीको अहिलेको स्वरूप कस्तो हुन्छ? अहिले त पुरातात्विक सम्पदाको पुनर्निर्माणको कार्य प्राचीन शैलीके हुबहू हुनुपर्छ भन्ने आवाज उठिरहेको छ, तर रानीपोखरीको पुरानो सौन्दर्य अहिले फर्किँदैन भन्ने चर्चा सुनिन्छ नि ? 


बिगेनजी, रानीपोखरी पुरानै रूपमा आउनेछ । किनभने यसको लागि नै तयारी भएको हो । विज्ञ समूहले पनि त्यस अनुसारको नै प्रतिवेदन दिएको हो । हामीले त्यसका लागि ईँट पनि माअप्पा, ल्वहँखः अप्पा नै अर्डर दिएर बनाउन दिएका छौँ । अनि पुरानो भग्नावशेष भएर रहेको गाह्रो हेरेर नै हामीले त्यसैको प्रतिरूप हुने गरी गाह्रो बनाउने भएका छौँ । त्यसैले त्यसको स्वरूप र साइजमा फरक पर्ने त कुरा नै हुँदैन । मुख्य सैद्धान्तिक रूपमा फरक पर्ने कुरा के हो भने तपाईँ हामीलाई थाहा नै छ, यो तीन सय, साढे तीन सय वर्षमा वस्ती अचाक्ली नै बढिसक्यो र अहिले त ठूलाठूला भवनहरू पनि भइसके जसका कारण जमिनको पानीको पनि दोहन अचाक्ली नै भएको छ । बाग्द्वार शिवपुरी क्षेत्रबाट आई बागमती, विष्णुमतीका बहने पानीको खोल्सा, जमिनमुनिको पानी पनि बाटैबाट हराइसक्यो  । त्यस कारणले त्यसको सम्भावना त अब नररिसक्यो । त्यस कुरालाई बुझेर अब के गर्न लागिएको छ भने....हामीले भिउँट बनाइदिने जस्तो नै हो, यसमा बाहिरबाट नै पानी भर्ने हो । अझ मैले सुनेअनुसार त ग्रेटर रानीपोखरीको पनि योजना बारे विचार हुँदैछ । रानीपोखरीको पूर्वतिरको र उत्तरतिरको जतिपनि पहेँला घरहरु छन्, सबै रानीपोखरीको भित्र पारेर, टुँडिखेलको खुलामञ्चसम्म लिएर त्यसलाई एक पार्कको रूपमा विकसित गर्ने भन्ने उहाँहरूको दीर्घकालीन सोच रहेको छ । त्यसो गरिए पछि रानीपोखरीलाई चाहिने पानी त्रिचन्द्र कलेजतिर ३०० मिटरको डिप बोरिङ्ग गरेर पानी भर्ने, त्यसमा पनि नपुगेकोमा मेलम्चीको पानीको पनि एक धारा राख्ने सोच रहेको छ । त्यस पछि पानी परी जम्मा हुने पानी समेत प्रयोग गर्ने भन्ने रहेको छ । यसरी दुई, तीन थरि स्रोतबाट रानीपोखरीमा पानी भर्ने सोच रहेको छ । 


दुई तीन थरि स्रोतमा मेलम्चीको पनि नाम लिनुभयो । तर अहिले मेलम्चीमा त स्थानीयहरुले नै अवरोध खडा गरेको अवस्था छ । यसमा यहाँहरुको कार्तिकसम्म कार्य सम्पन्न गर्न भन्ने योजनामा समस्या त हुने होइन ? 


अहिलेसम्म त हाम्रो जिम्मेवारी पोखरी बनाउने मात्र हो, पानी राख्ने होइन । तर पानी राख्ने जिम्मेवारी पनि दिने भन्ने आश्वासन चाहिँ दिइएको छ । 


त्यसो भए रानीपोखरीको पुरानो इनलेट आउटलेट त पूर्ण रुपमा नचल्ने नै भइसक्यो होइन त? 


हो, त्यो अब कुनै कामको नै देखिएन । किनभने हामीले त्यहाँ कालीमाटी भर्ने भनेर १८ इञ्ची खनेर हेर्दा पहिले सुनिएको ७ वटा इनारको कुनै अवशेष देखिएन । हामीलाई दिइएको प्लानिङ्गमा पनि चार पाँच वटा ट्रेन्च बनाउने भनेर दिइएको थियो । त्यस अनुसार हामीले १ मिटर लम्बाइ चौडाइको २ मिटर जति गहिरो हुने गरी खाल्डो खनी हेर्दा उत्तरपट्टि विश्वज्योतितिरको साइडमा रहेको खाल्डोमा खनेकै दिन नभई भोलिपल्ट २ फिट जति पानी भरिएको पायौँ भने उत्तरपट्टि रत्नपार्कतिरको चाहिँ कुनै खाल्डोमा पानी भरिएको पाएनौँ ।
त्यसै गरी हामीले रानीपोखरीको चारकुनामा आठ ठाउँमा टेस्ट बोरिङ्ग भनेर ८ ठाउँमा १०० फुटसम्म के के भेटिन्छ भनी हेर्दा जम्मा ४ ठाउँमा मात्र पानी आयो र त्यसमा पनि २ ठाउँमा मात्र अलि राम्ररी पानी आयो । त्यसो भनेको घण्टाघरतिरको र घण्टाघर, त्रिचन्द्रको साइडमा मात्र हो । 


त्यसो भए रानीपोखरीमा बाहिरैबाट पानी ल्याउनुपर्ने भयो हैन त ? 


हो । 


पहिले रानीपोखरीमा ढलान गरी स्विमिङ्ग पुल जस्तो नै बनाउने भयो भनेर व्यापक विरोध भएको थियो । अहिले कालिमाटी प्रयोग गर्ने कुरा आइरहेको छ । के कालिमाटी प्रयोग गरे पछि पानी चुहिएर जाँदैन हो ? 


आजभोलि त वैज्ञानिक युग हो । यसको पनि पुल्चोक क्याम्पसको ल्याबमा प्राविधिक परीक्षण भएको छ । हामीले भक्तपुर, साँखु, वाफल इत्यादि तीन चार ठाउँबाट कालिमाटी ल्याई परीक्षण गराउनेछौँ र त्यसको प्यास्टिसिटी, पर्माबिलिटी आदि जाँच्न लगाउँछौँ । त्यसबाट सिफारिस भए पछि मात्र हामीले त्यो कालिमाटी प्रयोग गर्नेछौँ । 
रानीपोखरीमा १२०० ट्रिप कालिमाटी लाग्ने भन्ने भएकाले सबै माटो एकै स्थानबाट मात्र ल्याउन सम्भव छैन । यतिका धेरै माटो चाहिएकाले यसको बजेट पनि ठूलै र काम पनि भारी नै छ । अहिले रानीपोखरीमा हेर्न आउनुभयो भने ३, ४ मिटरको लम्बाइ चौडाइ भएको दुई सानो पोखरी बनाइसकेका छौँ । ती दुई साना पोखरीमा कालिमाटी राखी हेर्दा त्यसमा पानी चुहिएर सुकेन, यो कुरा देखियो । 


यसको त अवधि पनि होला नि । कति अवधिसम्म पानी थामेर राख्छ कालिमाटीले ? 


कालिमाटीको विशेषता नै यो हो कि यसले पानी आफूमै सोसेर राख्छ, तल चुहाउँदैन । पहाड पनि खोप्दै जाँदा खोलामा पनि खनेर हेर्दा एक तहमा कालिमाटी भेटिन्छ र त्यो भन्दामुनि खोलाको पानी जाँदैन भनिन्छ । त्यसैले कालिमाटीको विशेषता नै यो भएकाले यसमा ढुक्क हुन सकिन्छ । 
अनि रानीपोखरी पुनर्निर्माणको कुरा गर्दै जाँदा बजेटको पनि कुरा आउँछ । कति लाग्छ क्यारे यसको लागि बजेट ? 


यो पोखरी मात्र बनाउन हामीलाई छुट्ट्याइदिएको बजेट भनेको ९ करोड ४५ लाख छ । त्यस मध्ये १० प्रतिशत रकम हामीले सम्झौतामा हस्तान्तरण गरेपछि प्राप्त भयो । अहिले त्यसैबाट काम चलाइराखेका छौँ । प्रगति देखाए पछि थप प्राप्त हुन्छ । 


बालगोपालेश्वर मन्दिर र बगैँचासमेतको बजेट चाहिँ कति होला? तपाईंलाई केही जानकारी वा अनुमान छ ?  


यसबारे हामीलाई थाहा भएन । तर हाम्रो चिन्ताको कुरा चाहिँ के हो भने भोलि मन्दिर, मन्दिरसम्म जाने पुल बनाउँदा हामीले बनाएको पोखरी त बिग्रने होइन? यही नै कुरा हामीले बारम्बार गुनासो गर्दा उहाँहरुले हामीलाई बालगोपालेश्वर मन्दिर बनाउन पनि टेण्डर भइसकेको कुरा सुनाउनुभयो । अघिल्लो मंगलवार मात्र यसका लागि ठेक्का दिने काम पनि भयो । केही दिनमा नै त्यो काम थालिने भए पछि मिलाएर नै काम गर्न सकिने कुरा बताउनुभयो । 


समानान्तर रूपमा काम हुनुपर्छ होइन भने पैसा, श्रम खेर जान सक्छ भन्ने कुरा त तपाईंहरुले महसुस गर्नुभयो । तर सरकारले यो कुरा महसुस गरेको छ कि छैन ? 


हामीले यो कुरा सुरुदेखि नै सम्झाएर आइरहेको हो । तर उहाँहरुले फलो गर्नुपर्ने खरिद ऐन, नियमावली इत्यादिको कुरा होला । त्यो उहाँहरुलाई कतिपय वाध्यात्मक स्थिति पनि होला । अन्ततिर जस्तो एउटाले बनाउने अर्कोले भत्काउने कुनै कोअर्डिनेसन नहुने काम नहोस् भनेर हामीले त उहाँहरुलाई बारम्बार नै सचेत गराइराखेका हौँ । तर हामीले काम सुरु गरेको तीन महिना पछि मात्र मन्दिरको कामको लागि टेन्डर भयो । 


मन्दिर त पुरानै शैलीमा बन्ने भनेको छ होइन त ? 


मन्दिर त अब शिखर शैलीमा बनाउने भनेर योजनामा नै छ, त्यो त तपाईंलाई पनि थाहा होला । शिखर शैलीमा नै हुनेछ । यसको अर्थ जुन हामीले पोस्टकार्डमा देखेको आकार अब रहनेछैन । अब चुच्चे शैलीमा नै देखिनेछ । यसलाई भूकम्प प्रतिरोधी बनाउन धेरै नै मेहनत गर्नुपर्नेछ भनेर मैले सुनेको छु । पौराणिक शैलीमा भने पछि शिखर शैलीमा नै हुनेछ । अनि त्यसको जग पहिलेको भत्काएर पूरै नयाँ बनाउने हो कि त्यसैमाथि मन्दिर उठाउने हो भन्ने कुरा चाहिँ उहाँहरुले परीक्षण गरे पछि मात्र तय गर्ने होला । किनभने उहाँहरुले दक्षिणपट्टिको पर्खाल तलसम्म खनेर हेरिसकेको छ । तलसम्मको जग बलियो छ भन्ने उहाँहरुलाई लागेमा त्यसैमाथि उठाउन पनि सक्छ । योे मेरो अनुमान मात्र हो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD