९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

डिजिटल असुरक्षाबाट बचाउन सचेतना आवश्यकः उपप्रमुख डंगोल


प्रकाशित: आइतवार, १४ मंसिर २०८२, १४ः०० बजे
- महानगरखवर

काठमाडौँ । डिजिटल साक्षरता अभाव हुँदा मोबाइल प्रविधि सबैको हातमा पुगे पनि धेरै व्यक्ति कुनै न कुनै जोखिममा फसिरहेको काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । 


लैङ्गिक हिंसाको डिजिटल रूप बढ्दै गएको उल्लेख गर्दै उहाँले उमेरका आधारमा समूह बनाएर शिक्षा र सचेतनामूलक कार्यक्रम निरन्तर चलाइने जानकारी दिनुभयो । 


लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत सामाजिक विकास विभागले राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा डंगोलले भनिन, “हिंसापछि उद्धारभन्दा महत्त्वपूर्ण काम हिंसा नै हुन नदिने कार्यक्रम सञ्चालन गर्नु हो । महानगर यसप्रति सचेत छ ।”


यस वर्ष ‘प्रविधिको सही उपयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ नारासहित मंसिर ९ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम भइरहेका छन ।


यस अवधिमा परेको विश्व एड्स दिवस, अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस, अन्तरराष्ट्रिय अपाङ्ग दिवस, मर्यादित महिनावारी दिवस र मानव अधिकार दिवसलाई समेत अभियानसँग जोडिएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, वडा महिला सञ्जालका सदस्य, एकद्वार संकट व्यवस्थापन केन्द्र, महिला विकास समूह तथा विभिन्न संस्थाका प्रतिनिधिबीच अन्तरक्रिया गरिएको थियो । 


प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले हिंसाको सुरुवात घरमै हुने भएकाले रोकथाम पनि घरबाटै शुरू हुनुपर्ने बताउनुभयो। “दिवसले सन्देश दिन्छ, तर कार्यक्रम वर्षभर चलाउनुपर्छ,” उहाँले भन्नुभयो । 


कार्यपालिका सदस्य ललिता खड्गीले घरपरिवारमा सिकेका कुरा बाँड्नुपर्ने आवश्यकता उल्लेख गरिन । 


सदस्य महेश नेपालीले दैनिक जीवनमा डिजिटल असुरक्षा तीव्र गतिमा बढिरहेको र यसबाट बच्न प्रयोगकर्ताकै प्रयास महत्वपूर्ण हुने बताए । 


न्यायिक समितिका सदस्य आशा श्रेष्ठ रौनियारले वडा महिला सञ्जालको क्षमता वृद्धि भएपछि लिङ्ग–आधारित घटनाको व्यवस्थापन प्रभावकारी बनेको अनुभव सुनाए ।


साइबर अपराध बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७५/७६ मा ३५७ मात्र उजुरी दर्ता भएकोमा २०८०/८१ मा १९ हजार ७३० पुगेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । 


“यो अङ्क मात्र होइन, समस्याको झन गम्भीर चित्र हो,” उहाँले भने । 


कान्ति बाल अस्पतालका एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन पुष्पा घिमिरेले नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ उद्धृत गर्दै २३ प्रतिशत महिलाले जीवनमा कुनै न कुनै प्रकारको हिंसा, ८ प्रतिशतले यौनिक हिंसा र २७ प्रतिशत विवाहित महिलाले शारीरिक, मानसिक वा यौनिक हिंसा भोगेको बताइन्। हिंसा भोगेकामध्ये २८ प्रतिशतले मात्र सहायता माग्ने हिम्मत गरेको तथ्याङ्क पनि उनले प्रस्तुत गरिन । 


काठमाडौँ महानगरभित्र स्त्री तथा प्रसूति रोग अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा छन । 


महानगरको कानुन तथा मानव अधिकार विभागका मुद्दा शाखा प्रमुख शिल्पा फुयाँलले लिङ्ग–आधारित हिंसा तत्काल सम्बोधन गर्न वडा तहमै संयन्त्र सक्रिय रहेको बताइन ।  सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले भेदभाव, दुव्र्यवहारदेखि यौनजन्य हिंसासम्मका क्रियाकलापलाई कानुनले अपराध मानेको बताए ।


महानगरले लैङ्गिक हिंसा निवारण कोष–२०७८, मानव बेचबिखन तथा ओसारपसार कार्यविधि–२०७८, महिला सञ्जाल गठन तथा सञ्चालन कार्यविधि–२०७९ लगायतका कानुनी तथा संस्थागत संयन्त्रमार्फत हिंसा नियन्त्रणमा काम गरिरहेको छ । वडास्तरमा महिला सञ्जाल र निगरानी समूहमार्फत घटनाको सूक्ष्म अनुगमन भइरहेको छ ।


सन १९९१ देखि प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म ‘महिला हिंसाविरुद्ध १६ दिने अभियान’ विश्वभर चलिँदै आएको छ । 


सबै प्रकारका लिङ्ग–आधारित हिंसा हटाएर समानतामूलक समाज निर्माण गर्नु यसको मुख्य उद्देश्य हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex