चाल्र्स डार्विनले विकासवादको सिद्धान्त प्रतिपादन गर्नका लागि एचएमएस बिगल जहाजमा बसेर जुन स्थानहरूको भ्रमण गरे, त्यसमा गलापगोस टापूको नाम अग्रिम पङ्क्तिमा आउँछ । यो भूमध्य रेखाको वरिपरि नै रहेको टापूहरूको समूह हो । यो टापू समूहमा जम्मा १३ ज्वालामुखीयुक्त टापूहरू रहेका छन्, जसमध्ये ६ वटा साना छन् । टेक्टोनिक चालका कारण सबभन्दा पुरानो टापू ५० लाखदेखि १ करोड वर्ष अगाडि बनेको अनुमान गरिएको छ भने इसाबेला र फर्नान्डिना भन्ने टापूहरू अहिले पनि निर्मित हुँदै रहेको छ । तर यो टापू समूह भौगोलिक र भौगर्भिक हिसाबले मात्र महत्वपूर्ण भएको नभई यहाँ भएका विशिष्ट स्थानीय प्रजातिका जीव जन्तु र वनस्पतिहरूका लागि त्यो भन्दा बढी प्रसिद्ध छ । यही विशिष्टताका कारण युनेस्कोले सन् १९७८ मा विश्व सम्पदा सूची तयार पार्दा एक नम्बरमै यही गलापगोस टापूसमूहको नाम टिप्यो ।
गलापगोस टापू वा द्विप समूह अहिले इक्वेडरको एक भाग हो । इक्वेडरको मूलभूमिबाट यो ९२६ किलोमिटरको दूरीमा रहेको छ । यस द्विपसमूहको भूमिको कुल क्षेत्रफल ८०१० वर्ग किलोमिटर रहेको छ भने यी भूमिहरू प्रशान्त महासागरको कुल ५९, ५०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । इक्वेडरको सरकारले गलापगोसलाई सन् १९३५ मा वन्यजन्तु आरक्ष घोषित ग¥यो भने सन् १९५९ मा यस आरक्षलाई गलापगोस राष्ट्रिय निकुञ्ज घोषित ग¥यो । सन् १९८६ मा समुद्री स्रोत आरक्ष पनि खडा गरियो । यसले समुद्री सम्पदाहरूको संरक्षण कार्य गर्दै आइरहेको छ । यसै गरी यस द्विपसमूहमा दोस्रो ठूलो टापू मानिएको शान्ता क्रुज टापूमा चाल्र्स डार्विन रिसर्च स्टेसन पनि खोलिएको छ । यो रिसर्च स्टेसनले स्थानीय जीवजन्तु र वनस्पतिको अध्ययन अनुसन्धानका साथसाथै संरक्षण कार्य पनि गर्दै आइरहेको छ ।
गलापगोस टापू ज्वालामुखीबाट निस्केको लाभाको थुप्रोले बनेको छ र विभिन्न स्थानका ज्वालामुखीका पहाडहरू रहेका छन् । उँचो निचो कृषियोग्य जमिन, वन, डाँडा, पहाड, ठूल्ठूला चट्टानले यहाँको भूधरातल बनेको छ । यहाँको सबभन्दा ठूलो टापू इसाबेला हो, यो १३२ किलोमिटर लामो छ र सम्पूर्ण टापूसमूहको क्षेत्रफलको आधा जसो भाग यो टापूले ओगटेको छ । यहाँको सबभन्दा अग्लो पहाड माउन्ट अजुल हो यो १६८९ मिटर अग्लो छ । पूरा टापूसमूहमा यो सबभन्दा उँचो भूभाग हो । दोस्रो ठूलो टापू शान्ता क्रुज हो । यो गोल आकारमा रहेको छ । यसको क्षेत्रफल १००७ वर्ग किलोमिटर रहेको छ ।
पनामाका बिशप टमस डे बर्लाङ्गाले यो गलापगोस टापू सन् १५३५ मा पत्ता लगाएको हो । उनी पेरु जाँदै गर्दा उनको जहाज भड्किएर यो टापूसम्म आइपुगेको हो । उनले यो टापूको नाम ला इन्कान्टाडसा भनेर राखे । यसको अर्थ मोहनी लगाउने भनेको हो । उनले आफ्नो पुस्तकमा यहाँ पाइने धेरै गलापगोस अर्थात् कछुवाहरूको वर्णन लेखे । त्यसपछि धेरै स्पेनी पर्यटकहरूले यो भूमिमा भ्रमण गरी गए । समुद्री डाँकाहरू, ह्वेलमाछा र सिलजन्तु मार्नेहरू पनि यहाँ आएर आफ्नो धन्दा चलाए । झण्डै ३०० वर्षसम्म यी टापूहरूमा कसैको दावी थिएन । तर १८३५ मा मानव बसोबास पनि भइसकेको शान्ता मारिया टापूसहित गलापगोस टापूसमूहमा इक्वेडरले आफ्नो झण्डा गाड्यो ।
सन् १८३५ मा यहाँ बेलायती विकासवादी जीवविद् चाल्र्स डार्विन आएर अध्ययन गरेका थिए । डार्विनबाटै यी टापूहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति पायो ।
गलापगोसको आवहवा वा मौसममा कम मात्र वर्षा, कम आद्रता, तुलनात्मक रूपमा कम तापक्रम रहेको छ । वनस्पति र जीवजन्तुका हजारौं प्रजाति यहाँ रहन्छन्, ती मध्ये कतिपय स्थानीय छन् । यहाँका सुख्खा तल्लो भूमिका सिउँदी अर्थात् क्याक्टस उम्रका छन् । माथि डाँडातिर पिसोनिया फूल र अम्बाका बोटहरू पाइन्छन् । त्यसभन्दा माथि झाडीसहितको जङ्गल छ भने माथितिर उन्यू उम्रेको पाइन्छ ।
यहाँ पाइने जीव जन्तुमा ठूल्ठूला कछुवाहरू नै प्रमुख हुन् । मध्य र दक्षिण अमेरिकामा पाइने धेरै जसो जीवजन्तु हेर्दा त्यहाँ रहेका धेरै जस्तो जीवजन्तु यसै टापूमा उत्पत्ति भएको बुझ्न सकिन्छ । यहाँ विभिन्न जीवजन्तुको प्रजातिको पनि उपप्रजाति हेर्दा जीवजन्तु कसरी वातावरणअनुकुलित हुन परिवर्तित भएर जान्छन् भन्ने कुरा अध्ययन गर्न सकिन्छ । यहाँ पाइने धोबिनी चरालाई नै लिने हो भने विभिन्न प्रजातिमा पनि उपप्रजाति जन्मिएका छन् । तिनीहरूको चुच्चो फरक प्रकारले विकसित भएको छ । समुद्री इगुवानाहरू पौडिरहन्छन् र समुद्रमा पाइने झारमा निर्भर गर्छन् । तिनीहरू हजारौँको संख्यामा देखिन्छन् । उड्न नसक्ने बत्तखहरू (हाँस जस्तो पक्षी) पनि यहाँ धेरै पाइन्छन् । अर्को विशेषता भनेको पेन्गुइन र भुवादार सिलहरू यहाँका उष्ण कटिबन्धीय जीवजन्तुका साथ रहेका छन् ।
यहाँको मानवीय बस्तीहरू धेरै जसो इक्वेडोरियनका छन् । सान क्रिस्टोबल, सान्ता मारिया, इसाबेला, सान्ता क्रुज टापूहरूमा मानवीय बस्ती छ भने केही टापूहरूमा मानवीय बसोबास छैन । बाल्ट्रा टापूमा इक्वेडरले सैनिक अखाडा खोलेको छ भने यहाँ विमानस्थल पनि रहेको छ । यही विमानस्थल यहाँ आउने पर्यटक भित्राउने मुख्य विमानस्थल बनेको छ । बाल्ट्रामा दोस्रो विश्व युद्धको समयमा अमेरिकाले नौसैनिक अखडा खोलेको थियो । विभिन्न देशबाट आउने पर्यटकहरू, माछा मार्ने काम र कृषि नै यहाँका प्रमुख आर्थिक गतिविधिको क्षेत्र हो ।
Categorized in सम्पदा/संस्कृति