काठमाडौं । डाँकाहरुको एक समुहले गएराती महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ स्थित खखनाको ३ वटा घरमा डकैती गरी ७ लाख मूल्य बराबरको धनमाल लुटेको छ ।
जिल्ला प्रहरी कार्यलय महोत्तरीका प्रहरी नायब उपरिक्षक खगेन्द्र बहादुर खड्का अनुसार डाँकाहरुको प्रतिकारमा पाँच जना घाइते भएको छ ।
खखनाका ललिन यादवको घरको मूल ढोका फोडेर घरभित्र प्रवेश गरी घरका सदस्यलाई नियन्त्रणमा लिएर रु दुई लाख नगद, पाँच तोला सुन, तीन वटा मोबाइल, १० थान साडी र अन्य गर गहनासहित रु सात लाख मूल्य बराबरको धनमाल लुटेर लगेको प्रहरीले जानकारी दिएको छ ।
बाह्र÷१४ जनाको समूहमा आएका सशस्त्र डाकाहरुले ललिन यादवका साथै स्थानीय सत्यनारायण राय यादव र चन्द्र राय यादवसहितको घरमा कुटपिट गरी पाँच जनालाई घाइते बनाएका छन ।
डाँकाहरुले घरेलु हतियारबाट प्रहार गरी ललिन यादव, सुरेन्द्र यादव, सञ्जिव यादव, सत्यनारायण यादव र चन्द्र राय यादवलाई टाउकोसहित शरीरका विभिन्न भागमा काटेर घाइते बनाएका छन ।
डाँकाहरुको कुटाइबाट सुरेन्द्र यादवको अवस्था गम्भीर रहेको छ उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ भने बाँकी चार जनाको उपचार सम्सी स्वास्थ्य चौकीमा भइरहेको जनाइएको छ ।
Categorized in समाज