काठमाडौं । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५, चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब पाँच सय मिटर तल खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।
मृत्यु हुनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन । घाइते हुनेमा १८ वर्षीया सुशिला विक, चार वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र ३५ वर्षीय जिप चालक रामबहादुर साउद रहेका छन ।
तीमध्ये सुशिला विक र चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको र उनीहरुलाई डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज